NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बालेनले पार्किङ हटाएपछि वडा कार्यालयको विरोध

काठमाडौं। पार्किङ सम्बन्धि समस्या समाधानका लागि व्यवस्था गरिदिन वडा कार्यालय २२ ले काठमाडौं महानगरपालिकासँग माग गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं २२ र २४ का सडकमा वि.सं २०७६ साल अघि नि:शुल्क पार्किङको व्यवस्था थियो । त्यसपछि महानगरपालिकाले नियुक्त गरेको ठेकेदारमार्फत शुल्क उठाउने गरी चार तथा दुई पाङ्ग्रे सवारी पार्किङ सञ्चालन भएको हो । यो पार्किङ व्यवस्था गत ९ माघदेखि पूर्ण रुपमा हटाईएको छ । पार्किङ हटाएपछि त्यसबाट सिर्जना भएको परिस्थितिप्रति २२ नं वडा कार्यलयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

वि.सं २०७५ सालमा पाईलट प्रोजेक्टको नाममा स्थानीय वडाका जनप्रतिनिधिको असहमतिबीच बिना टेण्डर प्रक्रिया महानगरपालिकाले ठेकेदार नियुक्ति गरेको वडा कार्यालयले जनाएको छ ।

ठेकेदारले सवारी तथा पैदल आवागमनलाई ध्यान नदिई बढी भन्दा बढी संख्यामा पार्किङ गराई पैसा असुल्ने काम मात्रै गरेका कारण त्यस क्षेत्रको जनजीवन अस्त व्यस्त भएको वडा कार्यालयको भनाई छ । ठेकेदारको करार समाप्त गरिनु स्वागत योग्य भएतापनि उसको असमक्षताको कारण उत्पन्न समस्या समाधानको नाममा पार्किङ नै हटाउनुको औचित्य नभएको वडाध्यक्ष चिनिकाजी महर्जनले बताएका छन्।

धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रुपमा अत्यन्त महत्वपूर्ण उक्त स्थानको समग्र जन जीवनको संवेदनशिलता र सन्तुलनलाई पुरै बेवास्ता भएको उनको गुनासो छ । यो निर्णयले त्यहाँको विभिन्न आयामहरुमा दीर्घकालीन नकारात्मक असर पर्ने उनको दाबी छ । सँगै, यो निर्णय गर्नुअघि महानगर बोर्डमा छलफल निर्णय नगरिएको, स्थानीय वडाका जन प्रतिनिधिहरुलाई जानकारी नगराइएको र महानगर प्रमुखबाट एकलौटी ढंगले उक्त पार्किङ्क हटाउने कार्य भए‌को जनाइएको छ ।

यस्ता छन् मागहरु

१. हाल का म पा भित्र कुनै पनि स्थानमा व्यवस्थित सार्वजनिक पार्किङ्ग स्थान वा भवनको विकास भई नसकेको हुँदा सार्वजनिक स्थानमा भई रहेका पार्किङ्कहरु पूर्ण रुपमा हटाउनु समग्र महानगरको निम्ति अव्यावहारिक र असान्दर्भिक हुने भएकोले हाल सःशुल्क पार्किङ्ग भई रहेको क्षेत्र मध्ये ठेकेदारलाई पोस्न दिईएको आवश्यकता भन्दा बढी क्षेत्रको पार्किङ हटाई बाँकी क्षेत्रमा सुधार सहित का.म.पा को तर्फबाट सबन्धित वडा कार्यालयको जिम्मेवारीमा ब्यवस्थित तरिकाले निःशुल्क पार्किङ्ग संचालन गर्ने ।

२. का म पा, वडा न २२ धर्मपथमा रहेको का म पा को पुरानो कार्यालय भवन रहेको जग्गामा स्थानीय जनताहरुको विरोधका बावजुद हाल निर्माण भई रहेको साँस्कृतिक भवनलाई आवश्यक लिफ्ट जडान गरी पार्किङ भवनको रुपमा रुपान्तरण गर्ने ।

३. का म पा द्वारा विभिन्न स्थानमा आधुनिक पार्किङ पूर्वाधार निर्माण गर्दै जाने र यस्ता पूर्वाधार तयार हुँदै जादा सोही अनुसार क्रमशः सार्वजनिक स्थानका पार्किङ्ग हटाउदै जाने।