NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नेपाल टी–२० शृंखलाको फाइनलमा

काठमाडौं । त्रिदेशीय टी–२० शृंखलाको फाइनलमा नेपालले स्थान बनाएको छ । शृंखलाको आफ्नो अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सविरुद्ध नेपालले ६ विकेटको जित निकालेसँगै नेपाल फाइनलमा पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १९.३ ओभरमा १२१ रनमा अलआउट गरेको हो । जवाफी ब्याटीङमा नेपालले १५.२ ओभरमा चार विकेट गुमाउँदै लगातार जित निकालेको हो । शुक्रबार नेपालले नामिबियालाई हराएको थियो ।
शनिबार नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले सानदार प्रदर्शन गरे। रोहितले ३४ बलमा तीन चौका र एक छक्कासहित ४६ रन बनाए। गुल्शनले ३६ बलमा दुई चौका र एक छक्कासहित ३८ रनको योगदान गरे। यसअघि ओपनर कुशल भुर्तेलले आठ बलमा १२ तथा आसिफ शेखले आठ रन बनाए।

युवा बलर प्रतिश जिसीले सर्वाधिक तीन विकेट लिदै म्यान अफ दी म्याच अवार्ड हात पारे । बायाँ हाते बलर प्रतिशले चार ओभरमा एक मेडनसहित जम्मा १३ रन खर्चिएका थिए।

करण केसीले तीन ओभरमा १८ रनसहित दुई विकेट तथा कुशल मल्लले चार ओभरमा १८ रन सहित दुई विकेट हात पारेका थिए ।

सुरुका दुई खेलमा नेपाल नेदरल्यान्ड्स र नामिबियासँग पराजित भएको थियो । अन्तिम दुई खेलमा जित निकालेपछि नेपालको चार खेलबाट चार अंक छ। नेदरल्यान्ड्सको तीन खेलबाट चार अंक जोड्दा नामिबियाको तीन खेलबाट दुई अंक छ। आइतबार नेदरल्यान्ड्स र नामिबियाबीच हुने निर्णायक खेलले फाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ ।