NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा बिहान ११ः१५ बजे खेल हुन लागेको हो ।

आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ ।

नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो ।

समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।

यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ ।

सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।