NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

टी–२० विश्वकप क्रिकेट : जितको अभिष्टसहित मैदानमा उत्रँदै नेपाल

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति ९ः१५ बजे डालसस्थित ग्राड प्रेरी रंगशालामा दुईबीच खेल हुन लागेको हो ।

विश्वकप क्रिकेटमा यो नेपालको दोस्रो सहभागिता हो । समूह ‘डी’मा रहेको नेपाल आजको खेलमा जित निकालेर सुखद् सुरुवात गर्न चाहन्छ । त्यसैले नेपाल जसरी पनि पहिलो खेलमा जित निकाल्ने दाउमा छ ।

समूह ‘डी’मा नेपालसहित नेदरल्याण्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।

नेपाल र नेदरल्यान्ड्स चिरपरिचित टिम हुन् । यी दुई देशले टी–२० आईमा १२ खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नेपाल ५ खेलमा विजयी र ६ खेलमा पराजित भएको थियो । एक खेल भने नतिजाविहीन बराबरीमा सकिएको थियो ।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार

प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरी आजको खेलमा नेपालका लागि प्रमुख हतियार हुनेछन् । ब्याटिङ, बलिङदेखि फिल्डिङसम्म सानदार प्रदर्शन गर्दै आएका उनलाई अन्य खेलाडीले साथ दिनुपर्नेछ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखमाथि पनि उत्तिकै आशा गरिएको छ । अब यी दुईले आफूलाई विश्वकपमा प्रमाणित गर्नुपर्नेछ ।

चोटका कारण यसअघिका केही खेल गुमाएका ऐरी टिममा फर्किंदा नेपाली टिममा केही परिवर्तन हुनेछ । सन्दीप जोरा र अनिल कुमार साहमध्ये एकलाई आज आराम दिइने अनुमान गरिएको छ ।

यसअघि सम्पन्न अभ्यास खेलमा अनिलले राम्रो प्रदर्शन गरेकाले उनले अवसर पाउने सम्भावना बढी छ । टिमको रोजाइमा अनिल पर्दा जोरा बेञ्चमा रहनेछन् ।

उता, तीव्र गतिका बलर प्रतिश जिसी र कमलसिंह ऐरीले पनि आज आराम पाउने करिब निश्चितजस्तै छ ।