NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

नेपाली कप्तानमाथि जाइलाग्ने बंगलादेशी बलर आइसिसीको कारबाहीमा

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारबाही गरेको छ ।

खेलाडीले पालना गर्नुपर्ने आचारसंहिताविपरीत गतिविधि गरेको ठहर गर्दै आइसिसीले उनीमाथि कारबाही गरेको हो ।

आइसिसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै खेल अनुशासन उल्लंघन गरेकाले सकिबको म्याच फीको १५ प्रतिशत रकम काटिने जनाएको छ ।

आइसिसी विश्वकपको समूह चरणअन्तर्गत नेपाल र बंगलादेशबीच भएको खेलका क्रममा सकिबले रोहितसँग भनाभन गर्दै हातले धकेलेका थिए । १०७ रनको लक्ष्य पछ्याएर नेपालले तेस्रो ओभरको बलिङ सकाएपछि उक्त घटना भएको थियो ।

कुशल भुर्तेल र अनिल साहलाई खेलबाट आउट गरेपछि आक्रोसित मुद्रामा रोहित नजिकै आएर उनले केही भनेका थिए । त्यसपछि रोहित पनि रिसाएर उनको प्रतिवाद गरेका थिए । त्यसपछि झनै आवेगमा आएका सकिबले रोहितलाई धकेलेका थिए । त्यसपछि आ–आफ्ना साथीलाई समातेर खेलाडीहरूले लगेकाले थप झगडाको सम्भावना टरेको थियो ।

गत आइतबार भएको खेलमा १०७ रनको लक्ष्य दिएको बंगलादेश ८५ रनमै नेपाललाई अलआउट गरेर विजयी भएको थियो ।