NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

कांग्रेसका यी नेता जो गृहमन्त्री बचाउन उद्यत छन्

काठमाडौं । मानव तस्करसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका कर्मचारीले रकम असुली गरी भिजिट भिसामा युवाहरूलाई विदेश पठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखक स्वयं तानिएका छन् । बेरोजगार युवाबाट असुली गरिएको रकम गृहमन्त्रीसम्मै पुग्ने जिकिर गर्दै उनीमाथि छानबिन गर्नुपर्ने माग सघन बन्दै गएको छ ।

सरकारको कामकारबाहीप्रति क्रुद्ध विपक्षी दलहरूले प्रतिनिधिसभाको आगामी बैठकहरूमा यसलाई प्रखर रूपमा उठाउने तयारी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसको छनक दिँदै प्रतिनिधिसभाको आगामी बैठक सामान्य नहुने बताइसकेको छ । माओवादी केन्द्र, राप्रपालगायतका दलहरू पनि यो मुद्दालाई जोडदार ढंगले उठाउने रणनीतिमा छन् । कानूनको पालना गराएर शान्ति सुव्यवस्था गराउनु पर्ने मन्त्रालयकै नेतृत्वमाथि संगीन आरोप लागेकाले उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने मत सार्वजनिक रूपमा पनि उत्तिकै प्रखर ढंगले उठिरहेको छ ।

तर गृहमन्त्री रमेश लेखक नैतिकताका आधारमा राजीनामा दिने भन्दा पनि दोष कर्मचारीमाथि थोपरेर यो प्रकरणबाट उम्किने दाउमा छन् । आफूमाथि लागेको गम्भीर आरोपबारे ६ दिनसम्म मौनता साधेका लेखकले शनिबार यसबारे अभिव्यक्ति दिँदै त्यसको छनक दिइसकेका छन् ।

भिजिट भिसा प्रकरणले राष्ट्रिय राजनीति नै तरंगित बनिरहेका बेला सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसभित्रबाट भने उल्टै छानबिनमा तानिएका लेखकको बचाउ गर्ने क्रम सुरु भएको छ ।

कांग्रेसका प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महत खुलेरै लेखकको पक्षमा उभिएका छन् । भिजिट भिसामा युवालाई विदेश पठाउन गरिएको असुलीमा गृहमन्त्री संलग्न भएको प्रमाण अहिलेसम्म कसैले प्रस्तुत गर्न नसकेकाले उनले राजीनामा दिनुपर्ने कुरा मनासिव मान्न नसकिने तर्क उनको छ । देउवाको विश्वासपात्र महतको यो भनाइलाई उनको मात्र नभएर सिंगो संस्थापनको कै रूपमा बुझ्नुपर्ने हुन्छ ।

गृहमन्त्रीको दुई रूप– अरूलाई पर्दा वेदान्त, आफूलाई पर्दा मरलान्त – NepalWatch

लेखकमाथि छानबिन गर्नुपर्ने आधार बढिरहेका बेला कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौला पनि आरोपितकै बचाउमा देखिएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले लेखककै बोलीमा लोली मिलाउँदै कर्मचारीले गरेको गल्तीको भागिदार मन्त्री नहुने बताए । ‘मन्त्रालयमा भएका कर्मचारीले कुनै न कुनै गल्ती गरिरहेका हुन्छन् । ती कर्मचारीले गल्ती गरे भनेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त हुँदैन,’ उनले भने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा भिजिट भिसाका नाममा भइरहेको असुलीको तार गृह मन्त्रीको सचिवालयसम्मै जोडिएको तथ्य भेटिएका छन् । यद्यपि, सिटौलाले यो पक्षलाई पूरै बेवास्ता गरे ।

तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेका सिटौला नेपाली राजनीतिमा इमानदार नेताका रूपमा चिनिन्छन् । गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति हुँदासम्म राष्ट्रिय राजनीतिमा छाएका निष्कलङ्क नेता सिटौलाले किन दागी नेताको पक्षपोषणमा शब्द खर्चिए ? यसबारे कांग्रेसभित्र र बाहिर लेखाजोखा हुन थालेको छ । शेरबहादुर देउवा कांग्रेसको नेतृत्वमा आएपछि किनारामा परेका सिटौला आफ्नो करिअर बौराउन चाहन्छन् । यही अभिप्रायका साथ पछिल्लो समय संस्थापन पक्षसँग नजिक देखिएका सिटौलाले आगामी दिनको नाफानोक्सान हिसाब गरेर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने कतिपय कांग्रेस नेताको आकलन छ । ‘कांग्रेस नेता सिटौला आगामी महाधिवेशनबाट कांग्रेसमा कमव्याक गर्ने मनस्थितिमा हुनुहुन्छ । त्यसकै लागि माहोल बनाउन उहाँले संस्थापन पक्षका नेतालाई अप्ठ्यारो पर्दा साथ दिनुभएको हुनसक्छ,’ कांग्रेसका एक नेता भन्छन् ।

यसबाहेक कांग्रेस संस्थापनका अर्का नेता मीन विश्वकर्माले पनि लेखककै पक्षपोषण गरेर अभिव्यक्ति दिइरहेका छन् ।

स्रोतका अनुसार, कांग्रेस संस्थापन पक्ष जिम्मेवारीपूर्वक अघि बढ्ने भन्दा पनि गृहमन्त्रीबारे भइरहेका टीकाटिप्पणीलाई पन्छाएरै अघि बढ्ने मनस्थितिमा छ । यसअघि आफ्ना नेता विभिन्न प्रकरणमा मुछिँदा पनि कांग्रेसले यस्तै गैरजिम्मेवार रबैया प्रदर्शन गरेको थियो ।

‘कांग्रेसका धेरै नेताको छवि विवादास्पद छ । अहिलेकै मन्त्रिपरिषद्मा सहभागी कांग्रेसका मन्त्रीहरूमाथि पनि नैतिक र कानूनी प्रश्न छन् । त्यसैले लेखकलाई हटाउने नैतिक आधार कांग्रेससँग छैन,’ कांगेसका एक नेता भन्छन् ।

कांग्रेसको संस्थापन पक्ष लेखकको बचाउमा उत्रिए पनि इतर पक्ष भने त्यसको विपरीत ध्रुवमा खडा भएको छ । कांग्रेसभित्रका प्रतिपक्ष मानिने डा. शेखर कोइरालाले आफूमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उपयुक्त हुने बताइसकेका छन् ।

‘अहिले गृह मन्त्रालय रमेशजीके अन्डरमा छ । उहाँमाथि प्रश्न उठेपछि नैतिकताका हिसाबले ल म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस् भने भइहाल्यो । यसले उहाँको नैतिक आचरण नै देखाउँछ,’ शनिबार यसबारे टिप्पणी गर्दै नेता कोइरालाले भनेका थिए ।

लेखकको बचाउ गर्दा पार्टीको छविमा धक्का लाग्ने भएकाले उनलाई हटाउनुपर्ने धारणा संस्थापन इतरका अन्य नेताहरूको पनि रहेको छ । कांग्रेसमा इतर समूह रक्षात्मक स्थितिमा रहेकाले यस्तो आवाजले निर्णायक भूमिका खेल्ने सम्भावना कम छ ।

जो मौन छन् ?

कांग्रेस महामन्त्री गगन थापाको छवि केही समय अघिसम्म गलत विषयको विरोध गर्ने स्पष्ट नेताका रूपमा थियो ।

पार्टीभित्र होस् या बाहिर, थापाले गलत प्रवृत्तिको सशक्त विरोध गरेको पाइन्थ्यो । उनको राजनीतिक करिअर छोटो समयमै उचाइ लिनुको कारण पनि यही थियो । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण मुछिँदा होस् वा आरजु राणा, उनी निष्पक्ष छानबिनको पक्षमा खुलेका थिए । तर पछिल्लो समय थापाको यो चिरपरिचित शैलीमा बदलाव आएको छ । केपी ओली नेतृत्वको सरकारका कैयन् कामबारे गम्भीर सार्वजनिक प्रश्न उठ्दा आमरूपमै उनको खोजी हुने गरेको छ । रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री हुँदा यस्तै प्रकृतिको अभियोग लाग्दा थापा उनीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर अग्रपंक्तिमा उभिएका थिए । तर अहिले आफ्नो दलका गृह मन्त्रीबारे उस्तै प्रकृतिको प्रश्न उब्जँदा उनी मौनप्रायः छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि, शर्मा केही समयदेखि हिमाल आरोहणमा व्यस्त रहेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष