NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

गृहमन्त्रीको दुई रूप– अरूलाई पर्दा वेदान्त, आफूलाई पर्दा मरलान्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट भिजिट भिसाका नाममा हुने गरेको असुलीमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठ्न थालेको छ ।  भिजिट भिसाका नाममा गरिएको असुलीको कनेक्सन गृहमन्त्रीसम्म रहेको प्रमाण सार्वजनिक भएकाले उनलाई राजीनामा दिन लगाएर छानबिन गर्नुपर्ने मागले राजनीति एकाएक गर्माएको छ ।

विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत पार्टी लगायतले नैतिकताका आधारमा राजीनामा दिएर गृहमन्त्रीले छानबिनलाई सघाउनुपर्ने बताएका छन् ।

विपक्षी दल मात्र होइन, नेपाली कांग्रेसभित्रै पनि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने मत व्यक्त हुन थालेका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाले आफूमाथि प्रश्न उठेकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । प्रश्न उठेपछि राजनीति गर्नेले राजीनामा दिनुपर्ने र त्यसबाट नैतिक आचरण देखिने उनको भनाइ छ ।

‘सबैभन्दा महत्वपूर्ण कुरा गृह मन्त्रालय रमेशजीकै अन्डरमा छ । उहाँमाथि प्रश्न उठेपछि नैतिकताका हिसाबले ल म क्लिन छु । मैले राजीनामा गरेँ । छानबिन समिति बनाउनुस् भने भइहाल्यो नि । यसले मोरल नैतिक आचरण नै देखाउँछ,’ उनले भने ।

कांग्रेसको संस्थापन खेमाले भने यसबारे अहिलेसम्म मुख खोलेको छैन । सरकारमा सामेल आफ्ना अन्य मन्त्री पनि विभिन्न प्रकरणमा मुछिएकाले कांग्रेस संस्थापन नैतिकताको लाइनमा उभिने सम्भावना निकै कम छ ।

कांग्रेसको सहयोगमा सरकार गठन गरेको एमाले पनि यो प्रकरणमा मौन देखिएको छ ।

विपक्षी दलले राजीनामालाई जोडदार रूपमा उठाइरहेका बेला पार्टीभित्रैबाट त्यसलाई सघाउने अभिव्यक्ति आउन थालेपछि गृहमन्त्री रमेश लेखक दबाबमा परेका छन् ।

गृहमन्त्रीलाई आफ्नै बोली भारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसले उनीमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै लगातार संसद् अवरोध गरेको थियो । कांग्रेसको विरोधले संसदीय गतिविधि नै अवरुद्ध बनेपछि त्यतिबेला गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी छानबिन समिति गठन गर्न तयार भएका थिए । सूर्य थापाको संयोजकत्वको छानबिन समितिले पछि सहकारी ठगीमा रवि प्रत्यक्ष संलग्न रहेको प्रमाण नभेटिएको प्रतिवेदन दिएको थियो ।

रविमाथि गम्भीर प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने कांग्रेस वृत्तको धारणा थियो । यस्तो धारणा जोडदार रूपमा राख्नेमा नेपाली कांग्रेसको सचेतकको भूमिकामा रहेका अहिलेका गृहमन्त्री रमेश लेखक अग्रपंक्तिमा थिए ।

२०८० चैत ६ गते बसेको प्रतिनिधिसभा बैठकमा रविलाई नैतिकताको पाठ पढाउँदै गृहमन्त्री लेखकले भनेका थिए– यो सदनले यसभन्दा पहिले नै स्थापित गरिसकेको छ कि कुनै पनि माननीय मन्त्री यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले अनुसन्धान गर्ने स्थिति बन्यो भने त्यस्तो माननीय मन्त्रीजी पदमा रहन पाउनुहुन्न । त्यसकारण गृहमन्त्री रवि लामिछानेले राजीनामा गर्नुपर्छ ।’

त्यसक्रममा उनले पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, पूर्व कानून मन्त्री शेरबहादुर तामाङ, पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि नैतिकताको प्रश्न उठ्दा राजीनामा दिएको दृष्टान्त प्रस्तुत गर्दै लामिछानेलाई त्यसबाट सबक सिक्न सुझाएका थिए ।

‘यसअघि रामशरण महत अर्थमन्त्री भएका बेला विदेशी बैंकमा खाता छ भन्ने प्रश्न आउँदा राजीनामा दिएको इतिहास यही संसदमा छ,’ उनले भनेका थिए, ‘मन्त्री हुँदा दिएको अभिव्यक्ति गलत भयो भनेर प्रश्न उठ्दा माननीय शेरबहादुर तामाङले पनि राजीनामा दिनुभएको थियो । माननीय गोकुल बाँस्कोटाजीमाथि प्रश्न उठ्दा छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नुभएको यसै संसदको इतिहास छ । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्यो । उहाँले राजीनामा गर्नुभयो र यहाँ छानबिन समिति गठन भयो ।’

विगतमा अन्य मन्त्रीलाई लक्ष्य गरेर दिएको नैतिकताको पाठ अहिले गृहमन्त्री लेखक आफैंका लागि भारी परेको छ । भिजिट भिसाका नाममा नेपाली युवाबाट रकम असुलीमा गृह मन्त्रालयसम्मै कनेक्सन रहेको खुले पनि उनी पदमा टाँसिएर आफ्नो प्रतिरक्षा गरिरहेका छन् ।

कर्मचारीलाई देखाएर पन्छने दाउ

आफूमाथि लागेको संगीन आरोपबारे झण्डै एक साता कुनै प्रतिक्रिया नजनाई बसेका लेखकले शनिबार यसबारे मुख खोलेका छन् ।

स्रोतका अनुसार अध्यागमनमा भिजिट भिसाका नाममा भइरहेको असुलीको तार गृह मन्त्रीसम्मै जोडिएको छ । तर लेखकले शनिबार कर्मचारीतिर दोष थोपरेर आफूलाई पानी माथिको ओभाने बनाउने प्रयास गरे ।

‘गृह मन्त्रालयमा हजारौं कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसकेँ, मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झुट्टा प्रचारबाजी भइरहेको छ,’ आफ्नो प्रतिरक्षा गर्दै गृह मन्त्री लेखकले शनिबार भने ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भिजिट भिसाका विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए ।

कर्मचारीको थाप्लोमा दोष थोपरेर उम्कने दाउमा रहेका लेखकलाई ०८० चैत ६ गतेको संसद् बैठकमा आफूले दिएको अभिव्यक्ति सुन्न धेरैले सुझाव दिएका छन् ।

दागीलाई अघि सारेर प्रतीरक्षा !

गृह मन्त्रालयले सोमबार भिजिट भिसाका नाममा भएको असुली सम्बन्धमा सार्वजनिक समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’ उनले अख्तियारबाट भइरहेको छानबिनमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । छानबिन गर्ने सहसचिव रिजाल तिनै व्यक्ति हुन् जो आफैं अख्तियारको छानबिन घेरामा छन् । अझै उदेकको कुरा त के छ भने कानूनको परिपालना गराइ शान्ति सुव्यवस्था कायम गर्ने अभिभारा बोकेको गृह मन्त्रीको सचिवालय विभिन्न प्रकरणमा मुछिएका काण्डवालाहरूले भरिएको छ ।

के गर्लान् विपक्षीले ?

बेरोजगार युवा ठग्ने कार्यमा गृहमन्त्रीकै संलग्नता खुल्ने प्रमाण बाहिरिएकाले राजीनामा दिनुपर्ने आवाजलाई विपक्षी दलले सघन बनाउँदै लगेका छन् ।

सरकार कुशासन र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै आएका विपक्षी दलले प्रतिनिधिसभा बैठकमा पनि यो विषयलाई प्रवेश गराउने तयारी गरेका छन् । बजेटको पूर्वसन्ध्यामा विपक्षी दलले घेराबन्दीको योजना बनाएपछि सत्तारुढ दल अप्ठ्यारोमा पर्ने देखिएको छ ।