NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जो सगरमाथामा एक साता बेपत्ता भएर फर्किए

काठमाडौँ- सगरमाथामा करिब एक सातादेखि बेपत्ता रहेका एक नेपाली पर्वतीय मार्गदर्शक (गाइड) काठमाडौँ फर्किएका छन्। ओखलढुंगाका गाइड दावा शेर्पा  शुक्रबार साँझ क्याम्प-३ नजिक सम्पर्कविहीन भएका थिए। साउथ कोलमा उनीसँगै रहेका पोलिस आरोहीको औँला हिउँले खाएपछि फर्किएका थिए।

विभिन्न स्रोतका अनुसार ओर्लने क्रममा ग्राहकभन्दा पछाडि रहेका दावा टोलीका अन्य सदस्यहरू तल झरेपछि क्याम्प-३ नजिक एक्लै परेका थिए।

उनीहरूको खोजीका लागि बिहीबार हेलिकप्टरमार्फत अभियान सुरु गरिएका बेला सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कर्मचारीहरूले खुम्बु हिमप्रपात (खुम्बु आइसफल) नजिकको क्र्याम्पोन पोइन्ट क्षेत्रमा दावालाई बिस्तारै घस्रँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा फेला पारेका थिए।

त्यसपछि उनलाई बोकेर गोरकसेप पुर्‍याइएको थियो। त्यहाँबाट उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। दावालाई ह्याम्स अस्पताल पुर्‍याउने हेलिकप्टरका कप्तान विवेक खड्काले उनको अवतरणलाई चमत्कारपूर्ण बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सात दिनदेखि बेपत्ता रहेका दावा खुम्बु हिमप्रपात पार गर्दै पैदलै आधार शिविरसम्म पुग्न सफल हुनु कुनै चमत्कारभन्दा कम होइन। गोरकसेपबाट उद्धार गरी थप उपचारका लागि सुरक्षित रूपमा ह्याम्स अस्पतालसम्म पुर्‍याउने अभियानको हिस्सा बन्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु। उनको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’