NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाण्डु – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरसँग भेटवार्ता गरेका छन् ।

गोर भारतका लागि अमेरिकाका राजदूत पनि हुन् । उनीहरूबीच बिहीबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको छ ।

गोर यसअघि वैशाखमा नेपाल भ्रमण गरेका थिए । त्यतिबेला पनि उनले सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।

सभापति लामिछाने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा सोमबार नयाँ दिल्ली गएका थिए।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयंशकर, भाजपाका अध्यक्ष नितिन नवीनसहित थुप्रै उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन्।।

बिहीबार नयाँ दिल्लीमा पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रम सकेर उनी साँझ उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन्।

लखनउ विमानस्थलमा उनलाई उत्तर प्रदेशका उपमुख्यमन्त्री योगी आदित्यनाथलगायत भाजपाका नेताहरुले स्वागत गरेका थिए ।

पाँच दिन भारत भ्रमण सकेर सभापति लामिछाने शुक्रबार स्वदेश फर्किदै छन् । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

ताजा अपडेट

नेपालवाच विशेष