प्रहरीले गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी समात्यो
काठमाडौँ । गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने क्रममा एक जना कारोबारी घाइते भएका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला, पौदमाहा ग्रामपञ्चायत–२ जोगिया निवासी छोटु भन्ने रञ्जित कुमार पासवान र अर्का १६ वर्षीय भारतीय बालक रहेका छन् ।
उनीहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६ मिलिग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका–२१ लगडीगोठस्थित भारतीय सीमावर्ती क्षेत्रमा लागू औषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । त्यस क्रममा चारदेखि पाँच जनाको समूहमा रहेका कारोबारीहरूले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए ।
सुरुमा हवाइ फायर गरिएको र त्यसपछि भाग्न खोजेपछि घुँडामुनि गोली प्रहार गरिएको बताइएको छ । प्रहरीका अनुसार रञ्जित कुमार पासवान नेपाली लागू औषध कारोबारीहरूलाई ब्राउन सुगर आपूर्ति गर्ने मुख्य भारतीय सप्लायरमध्ये एक हुन् । उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रतिक्रिया