देश प्रतिगामी, फाँसीवादी बाटोमा जान सक्दैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन् ।
फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त संघर्षमा जानुपर्ने आवश्यकता रहेको र ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने उनकाे भनाइ थियाे ।
नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुपर्ने, एकीकरण गर्नुपर्ने आवश्यकता नभएको बताए ।
उनले भने, ‘एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू लिन सक्छौँ, पार्टीगत एकताको चरणमा अहिले हामी छैनौँ ।’
ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्दै कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई हाम्राविरुद्ध भएको हमला र छरिएको भ्रमबाट जनता अलमलिएको बताए ।
यसै कारण पार्टीले गम्भीर धक्का खाएको अहिलेको अवस्था भए पनि उठ्न नसक्ने अवस्थामा नपुगेको उनले बताए । उनले भने, ‘हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ, हामी उठ्न सक्छौँ ।’
‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो’, उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न विशेष संगठन कमिटीमा आबद्ध नेता कार्यकर्तालाई उनले आग्रह गरे ।
‘गत वर्ष २३/२४ भदौको घटना हाम्रो कमजोरी होइन, षड्यन्त्रकारीको अपराध हो,’ तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हामी हमलामा पर्यौँ । सुरक्षा संयन्त्र परिचालित भएन ।’
उक्त घटनामा जोडेर मानवअधिकार आयोगजस्ता निष्पक्ष न्यायिक संस्थाहरूबाट समेत आफू अत्याचारमा परेको अध्यक्ष ओलीले बताए ।
‘देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउनेछौँ,’ उनले भने ।
सुझाव संकलन कार्यक्रममा पार्टीका उपाध्यक्ष, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डितलगायतको उपस्थिति छ ।
ताजा अपडेट
-
‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट-२०२५’ गोल्ड अवार्डबाट नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन
-
नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो
-
देश प्रतिगामी, फाँसीवादी बाटोमा जान सक्दैन : अध्यक्ष ओली
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ


प्रतिक्रिया