सीआईबीको नाम दुरुपयोग गरी धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय, विश्वास नगर्न आग्रह
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो नाम तथा ब्युरो प्रमुखको नाम दुरुपयोग गरी विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेलमार्फत कानुनी कारबाहीको डर देखाउँदै तत्काल सम्पर्क गर्न दबाब दिने प्रकृतिका सन्देश पठाइरहेको जनाएको हो।
विज्ञप्तिअनुसार ती इमेलहरूमा “यदि तपाईंविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट कानुनी कारबाही हुन नदिन चाहनुहुन्छ भने तुरुन्त यस सन्देशको जवाफ दिनुहोस्, अन्यथा अदालतमा मुद्दा दायर गरिनेछ” भन्ने आशयका अंग्रेजी सन्देश प्रयोग गरिएको छ।
सीआईबीले यस्ता सन्देशहरू अनधिकृत रहेको स्पष्ट गर्दै ती इमेलहरू ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। ब्युरोले आफ्नो नाम प्रयोग गरी कुनै पनि व्यक्तिलाई इमेल वा यस्ता प्रकारका पत्राचार नगरेको पनि स्पष्ट पारेको छ।
यस्ता भ्रामक तथा अफवाहपूर्ण इमेलहरूमा विश्वास नगर्न र प्राप्त भएमा त्यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। आवश्यक जानकारी वा पुष्टि गर्न सम्बन्धित निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
सीआईबीका अनुसार यस घटनासम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने ब्युरोले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा साइबर माध्यमबाट हुने ठगी तथा भ्रम फैलाउने गतिविधिप्रति सचेत रहन सबैमा आग्रह गरिएको छ।
ताजा अपडेट
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
-
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित
-
विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते
-
घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
-
परराष्ट्र मन्त्रालयका १०० दिन: प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म


प्रतिक्रिया