NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २६ गते

असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने

काठमाडौँ – सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागेको बताएका हुन्।

उनले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताए। नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको उनले बताए। त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहनसक्ने भए पनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ।

उनले सरकारको नीतिअनुरुप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताए।

प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको बताए। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया सुरु भएको पनि उनले जानकारी दिए।

यसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

ताजा अपडेट

नेपालवाच विशेष