NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। यस्तै, पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेश प्रदेशका थोरै स्थान, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष