आयल निगमको ट्यांकरबाटै २० हजार लिटर हवाई इन्धन चोरी, सात पक्राउ
काठमाडौँ। भारत बिहारबाट नेपाल आएको आयल निगमको हवाई इन्धन बीच बाटोमै चोरी भएको छ। सीनामंगल काठमाडौँमा आइपुग्नुपर्ने २० हजार लिटर हवाई इन्धन वीरगन्जमै चोरी भएको पाइएको हो।
प्रहरीका अनुसार ना७ख १५३९ नम्बरको नेपाल आयल निगमको ट्यांकरबाट हवाई इन्धन चोरी प्रकरणमा सात जनालाई पक्राउ गरिएको छ। बिहारबाट सिधै आउने ट्यांकरको सिल तोडेर वीरगन्ज महानगरपालिका-१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा बिहीबार चोरी गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
उक्त आयल सेन्टरमा ट्यांकरको सिल तोडेर तेल चोरी गरी निकालिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको भट्टराईले बताए। “उनीहरूले पेट्रोल निकालेर ग्यालिनमा खन्याइरहेका थिए,” भट्टराईले भने।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका३ का ५५ वर्षीय सुनैन मियाँ रहेका छन्। उनी पेट्रोल पम्पका सञ्चालक हुन्। यस्तै, वीरगन्ज महानगरपालिका१५ का २३ वर्षीय असलम हवारी र वीरगन्ज महानगरपालिका-११ का २१ वर्षीय रफिक मियाँ रहेका छन्। दुबै जना पेट्रोल पम्पका सञ्चालक हुन्।
अन्य पक्राउ पर्ने व्यक्तिमा हेटौँडा उपमहानगरपालिका-११ का २० वर्षीय सन्देश रानामगर, वडा नम्बर १० का ४६ वर्षीय केशर राम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्दसिंह लामा र २७ वर्षीय उमेश रानामगर रहेका छन्।
पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ।


प्रतिक्रिया