नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य
काठमाडौं । घरमै स्वास्थ्य सेवा प्राप्त गर्न चाहने व्यक्ति तथा बिरामीको सेवालाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड र हेल्थ एट होम संस्थाबीच सहकार्य भएको छ ।
अब घरमै स्वास्थ्यसेवा प्राप्त गर्न चाहने बिरामीहरुलाई नर्भिक अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्नेछन् । सेवा प्राप्त गर्नका लागि बिरामीहरुले हेल्थ एट होमको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
उक्त सम्झौताअनुसार अब बिरामीले घरमै होम नर्सिङ, चिकित्सकीय परामर्श, फिजियोथेरापी तथा पुनर्स्थापना सेवा, घरमै ल्याब नमुना संकलन, पोस्ट–अपरेटिभ केयर तथा आवश्यक फलोअप सेवा तथा मासिक हेल्थ चेकअप सेवा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, घरमै स्वास्थ्य सेवा लिइरहेका बिरामीलाई थप विशेषज्ञ उपचार वा अस्पताल सेवाको आवश्यकता देखिएमा नर्भिक इन्टरनेशनल हस्पिटलमा उचित रेफरल तथा समन्वयको व्यवस्था गरिने सहमति भएको छ । दुई संस्थाबीचको यो सहकार्यले बिरामीको अवस्थाअनुसार समयमै आवश्यक उपचार तथा विशेषज्ञ सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यस सहकार्यले विशेषगरी अस्पतालबाट डिस्चार्जपछि नियमित हेरचाह आवश्यक पर्ने बिरामी, ज्येष्ठ नागरिक, दीर्घरोगी, शल्यक्रियापछि पुनर्स्थापनामा रहेका बिरामी तथा अस्पतालसम्म आउन कठिन हुने बिरामीलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ । सहकार्यअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्यकर्मीको तालिम, ज्ञान आदान–प्रदान तथा बिरामी हेरचाहसम्बन्धी समन्वय हुनेछ ।
नर्भिक हस्पिटलका संस्थापक अध्यक्ष बसन्त चौधरीले २५ वर्षदेखि विशेषगरी विदेशमा रहेका नेपालीका नेपालमा रहेका अशक्त, दीर्घरोगी र वृद्धवद्धा आमाबुबा तथा आफन्तलाई घरमै स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले ‘प्यारेन्ट वेलनेस’ कार्यक्रम संचालन गरेका थिए । नर्भिकले पछिल्लो समय उक्त सेवालाई हेल्थ एट होमसँगको सहकार्यमा निरन्तरता दिइरहेको छ ।
हाल बैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न कारणले युवाहरु बिदेशिने क्रम बढिरहेको अवस्था छ । युवापुस्ताको बढ्दो विदेश पलायनले घरमा रहेका वृद्धावस्थाका आमाबुबा तथा आफन्त एक्लै हुने हुँदा स्वास्थ्य सेवा आवश्यक पर्दा वा बिरामी हुँदा अस्पतालसम्म पुग्न नसक्ने तथा असहज हुने भएकाले यस्ता व्यक्तिहरुलाई लक्षित गर्दै हेल्थ एट होमले घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया