ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा गणेश कार्कीसहित तीन जना नियुक्त
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूह विस्तार गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका निवर्तमान अध्यक्ष गणेश कार्कीसहित तीन जनालाई नियुक्त गरेका छन्।
मन्त्री श्रेष्ठले बिहीबार तीन जना सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो। नियुक्त हुनेमा आशुतोष तिवारी योजना तथा लगानी सल्लाहकार, रमेश पौडेल नीति सल्लाहकार र गणेश कार्की निजी क्षेत्र सल्लाहकार रहेका छन्।
कार्की इप्पानका निवर्तमान अध्यक्ष हुनुका साथै मरिससका लागि नेपालका अवैतनिक दूतसमेत हुन्। यसअघि मन्त्री श्रेष्ठले विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए।
नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रसम्बन्धी विज्ञता भएका चार जना समेटिएका छन्।
मन्त्रालयका अनुसार सल्लाहकारहरूले ऊर्जा क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन्। नियुक्त भएका सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्।


प्रतिक्रिया