नख्खु कारागारमा नि:शुल्क आँखा शिविर: कैदी बन्दी लाभान्वित
काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा तथा काठमाडौँ सुकेधाराको एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा एक हजार २२६ जनाको नेत्र परीक्षण गरिएको छ ।
ती शिविरमा कारागारका कर्मचारी, कैदी बन्दी, थुनुवा, ज्येष्ठ नागरिक र सर्वसाधारणको आँखा परीक्षण गरी औषधि र चस्मासमेत नि:शुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिए ।
अस्पतालले नख्खुमा कारागारमा कैदी बन्दी, थुनुवा तथा कर्मचारीका लागि सञ्चालन गरेको शिविरमा ९०७ सेवाग्राहीको आँखा परीक्षण गरेको थियो । त्यहाँ आँखा परीक्षण गराउनेमा मोतीबिन्दु, दृष्टि दोष तथा मनसुनमा देखिने विभिन्न रोगको पहिचान भएको अस्पतालले जनाएको छ ।
विशेषज्ञसहित आठ जनाको टोलीले त्यस शिविरमा २० जनामा मोतीबिन्दु पहिचान गरेको थियो भने ४२१ जनालाई आँखाको औषधि प्रदान गरेको उनले जानकारी दिए । आँखा परीक्षणका क्रममा मोतीबिन्दु देखिएकालाई कारागार व्यवस्थापनसँगको सहकार्यमा अस्पतालले केही समयपछि नि:शुल्क शल्यक्रिया गर्नेछ ।
त्यस्तै, १४६ जना कैदी बन्दीमा पढ्न/लेख्न समस्या देखिएकाले नि:शुल्क चस्मा र औषधि उपलब्ध गराइएको तथा शिविरमा उपचार हुन नसकेका ९२ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको जनाइएको छ ।
त्यस अवसरमा अस्पतालकै प्राविधिक टोलीले कैदी बन्दी, थुनुवा तथा कर्मचारीका लागि आँखा स्वास्थ्य, सुरक्षा तथा हेरचाहका सम्बन्धमा चेतनामूलक अभिमुखीकरणसमेत प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत गोसाईंले जानकारी दिए । उक्त अस्पतालले केन्द्रीय कारागार, नख्खु कारागार र सदर खोर (कारागार) डिल्लीबजारसँग सम्झौता गरी त्यहाँका कैदी बन्दी, थुनुवा तथा कर्मचारीलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, त्यस अस्पतालले लायन्स क्लब अफ नीलबाराही र ललितपुर महानगरपालिका–१० को सहजीकरणमा कुपण्डोलस्थित सिख धर्मावलम्बीको धार्मिक स्थल गुरुद्वारामा सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा २१४ जनाको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये आठ जनामा मोतीबिन्दु पहिचान भएको थियो ।
त्यस अवसरमा शिविरमा आँखा परीक्षण गराएका १०० जना बिरामीलाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । शिविरमा आएकामध्ये १९ जनालाई थप उपचारका लागि अस्पताल पठाउन सिफारिस गरिएको थियो भने १४१ जनालाई औषधि प्रदान गरिएको जानकारी दिइयो ।
एजिङ केयर सेन्टरमा आँखा शिविर
नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित एजिङ केयर सेन्टरका ज्येष्ठ नागरिक तथा स्थानीयलाई लक्षित गरी सञ्चालित नि:शुल्क आँखा शिविरमा १०५ बिरामीको आँखा जाँच गरिएको छ ।
शिविरमा आँखा परीक्षण गरिएकामध्ये सेन्टरका नौ जना र स्थानीय पाँच जनामा मोतीबिन्दुको पहिचान गरिएको अस्पतालले जनाएको छ । सेन्टर र समुदायका गरी २२ जनालाई नजिक पढ्न र लेख्न सहयोग हुने चस्मा नि:शुल्क उपलब्ध गराइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोसाईंले जानकारी दिए।
यसअघि उक्त शिविरको नेपाल आँखा अस्पतालका कार्यसमिति सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित
-
आठ किलो थाइ गाँजासहित त्रिभुवन विमानस्थलबाट म्यान्मारका दुई नागरिक पक्राउ
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल
-
जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो, २५ जिल्लाका ८० जनामा संक्रमण पुष्टि
-
रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु


प्रतिक्रिया