कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
बागलुङ । कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका-९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठ वटा शौचालय निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालले रु. दुई करोड ६८ लाखको लागतमा आठ महिनामै सुविधा सम्पन्न भवन निर्माण गरेपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार भएको छ ।
नयाँ भवन निर्माण भएपछि लामो समयदेखि कक्षाकोठा अभावका कारण समस्या झेल्दै आएको विद्यालयमा पठनपाठन सहज भएको प्रधानाध्यापक थमप्रकाश जैसीले बताउनुभयो । दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा हाल ४३१ विद्यार्थी अध्ययनरत छन् ।
कक्षाकोठा अभाव हुँदा यसअघि एउटै कोठामा ६० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने अवस्था थियो । विद्यार्थी सङ्ख्या धेरै भएका कारण कक्षा पाँच, सात र आठलाई दुई–दुई समूहमा विभाजन गरी पठनपाठन सञ्चालन गर्नुपरेको थियो । पर्याप्त कक्षाकोठा नहुँदा ट्रसको छाप्रो र पक्की भवनको भर्याङमुनिसमेत कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक जैसीले बताए ।
“बालविकासदेखि कक्षा १० सम्मका लागि ११ वटा कोठा आवश्यक थियो । तीन वटा कक्षामा विद्यार्थी धेरै भएपछि दुई समूहमा विभाजन गरेर ट्रसको छाप्रो र पक्की भवनको भर्याङमुनिसमेत पढाउने गरेका थियौँ,” उनले भने, “अहिले १२ नयाँ कक्षाकोठा र शौचालय थपिएपछि प्रयोगशाला, पुस्तकालयलगायतका लागि पनि पर्याप्त स्थान छ ।” नयाँ भवन निर्माणमा लगानी भएको उक्त रकममा दश प्रतिशत स्थानीयको श्रमदान पनि समावेश छ ।
ताजा अपडेट
-
आठ किलो थाइ गाँजासहित त्रिभुवन विमानस्थलबाट म्यान्मारका दुई नागरिक पक्राउ
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल
-
जापानिज इन्सेफ्लाइटिसको जोखिम बढ्दो, २५ जिल्लाका ८० जनामा संक्रमण पुष्टि
-
रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु
-
आज सुनको मूल्य बढ्दा चाँदी घट्यो


प्रतिक्रिया