एसियाली खेलकुदका लागि सुदूरपश्चिमका कुस्तीका सात खेलाडी छनोट
महेन्द्रनगर । उन्नाइऔँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशका सात खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । सुदूरपश्चिम प्रदेशको नौवटा जिल्लामध्ये कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हुँदै आएको छ ।
कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्तीको इतिहासमै पहिलो पटक सातजना खेलाडी एसियालीका लागि प्रारम्भिक चरणमा छनोट हुनु सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए ।
उनका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि बन्द प्रशिक्षणअघि काठमाडौँमा प्रारम्भिक छनोट सकिएको छ । जसमा पुरुषतर्फ ७४ केजी तौल समूहमा यहाँका सुरेश चुनारा, महिलातर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भण्डारी ५७ किलो तौल समूहमा छनोटमा परेका छन् । त्यसैगरी ६२ किलो तौल समूहमा निर्मला जाग्री, कोमल खत्री र बिमला सुनार छनोटमा परेको प्रशिक्षक चन्दको भनाइ छ ।
सुदूरपश्चिमबाट यसअघि चार वर्षअघि सुरेश चुनाराले मात्रै एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । आगामी भदौमा चीनमा हुने एसियाली खेलकुदमा सुरेशसँगै ६ जना यहाँका महिला खेलाडी सहभागी हुन प्रारम्भिक चरण पार गरेका छन् ।
प्रशिक्षक चन्दका अनुसार बिमला, मनिषा र कोमल कञ्चनपुरबाट कुस्ती खेल्छन् भने सुरेश, निर्मला र शिवाङ्गी दुबे त्रिभुवन आर्मी क्लबसित आबद्ध छन् । त्यस्तै, अम्बिका भण्डारी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छिन् । जेठमा हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि एसियाली खेलकुदको बन्द प्रशिक्षण हुने भनिएको छ ।
“कुस्तीतर्फ परिणामले पनि हेर्ने हो भने सुदूरपश्चिम उर्वरभूमि नै हो”, प्रशिक्षक चन्दले भन्नुभयो, “तर विडम्बना न यहाँ कुस्तीको हल छ नत, खेल सामग्री नै ।” अभावका बीच खेलाडीहरूको खेलप्रतिको लगन र मिहेनतले उनीहरू एसियालीसम्म पुगेको उनको भनाइ छ ।
एसियाली खेलकुदको अनुभव बटुलिसकेका कुस्ती खेलाडी सुरेश चुनाराले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न आफू नियमित प्रशिक्षणमा रहेको बताए । “यसअघि पनि एसियाली सहभागिताले धेरै सिक्ने मौका मिलेको थियो”, चुनाराले भन्नुभयो, “अब राष्ट्रियपछि हुने बन्द प्रशिक्षणमा कडा मेहनत गरेर अघि बढ्छौँ ।”
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया