NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ६ गते

एनपीएलमा चितवनका रिजन सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं: चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगिताको उत्कृष्ट बलर समेत बनेका उनले पुरस्कार स्वरूप ओमोडाको गाडी र पल्सर बाइक प्राप्त गरेका छन्।

रिजनले यस संस्करणमा कुल ९ खेल खेल्दै १७ विकेट आफ्नो नाममा गरेका छन्। उनले एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजविरुद्ध र लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध समान ४ विकेट लिएका थिए। त्यसैगरी, काठमाडौँसँग ३ विकेट, विराटनगर किंग्सविरुद्ध २ विकेट र कर्णाली याक्स, जनकपुर बोल्ट्स तथा सुदूरपश्चिम रोयल्सविरुद्ध १-१ विकेट हात पारेका थिए। यसअघिका संस्करणहरूमा पनि सन्दीप लामिछाने, अविनास बोहोरा, शेर मल्ल, स्कट कुग्लेजिन र ललित राजवंशीले समान १७ विकेट लिएका थिए।

त्यस्तै, विराटनगर किंग्सका लोकेश बम उत्कृष्ट ब्याटर चुनिएका छन्। उनले ७ खेलमा २ अर्धशतकसहित कुल २ सय ४६ रन बनाएका थिए। उत्कृष्ट ब्याटर बनेबापत उनले एक बाइक प्राप्त गरेका छन्। यसैगरी, जनकपुर बोल्ट्सका राहुल यादव एनपीएलको उदीयमान खेलाडी घोषित भएका छन्। ट्यालेन्ट हन्टमार्फत आएका उनले लिग चरणमा १२ विकेट लिएका थिए। उत्कृष्ट प्रदर्शन गरेबापत उनले पनि एक बाइक पुरस्कार पाएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष