ललितपुरमा कम्तीमा दशगुणा अन्तरले जित्छु : चिरिबाबु महर्जन [अन्तर्वार्ता]
![ललितपुरमा कम्तीमा दशगुणा अन्तरले जित्छु : चिरिबाबु महर्जन [अन्तर्वार्ता]](https://nepalwatch.com/wp-content/uploads/2022/05/Chiribabu-Maharjan_1200x600px-05-10.png)
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू अन्तिम प्रचारप्रसारमा छन् । यस अघि जितेका ठाउँ फेरि जित्ने दाउ जितेका र नतिजा उल्ट्याउने पर्खाइमा अर्को पक्ष मैदानमा उत्रिएका छन् । यसपटक सत्ता गठबन्धनले एमालेविरुद्ध चुनावी तालमेल गरेपछि नतिजालाई लिएर व्यग्र चासो देखिन थालिसकेको छ । यस्तो चासो मुख्य सहरी क्षेत्रमा झन् बढी छ । यसै क्रममा ललितपुर महानगरपालिकामा यसपटक पनि पहिलेकै प्रतिस्पर्धी आमनेसामने हुँदैछन् । कांग्रेसबाट उम्मेदवार बनेर जित्दा कांग्रेसका चिरिबाबु महर्जनले २४ हजार ६४२ मत ल्याएका थिए । एमालेबाट पराजित भएका हरिकृष्ण ब्यञ्जनकार ३२६ मतको साँघुरो अन्तरले पराजित हुँदा २४ हजार तीन सय १६ मत ल्याउन सफल भएका थिए ।
यही साँघुरो अन्तरको हारजित भएको ललितपुरमा यसपटक पनि महर्जन र ब्यञ्जनकार नै मेयरको प्रतिस्पर्धामा छन् । तर फरक के छ भने यसपटक कांग्रेसलाई साथ दिन माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकसाथ उभिएका छन् । अघिल्लोपटक माओवादीका दिनेश महर्जनले मेयरमा १० हजार ६ सय ६१ मत पाएका थिए । यसपटक ललितपुरमा उपमेयर माओवादीले पाएको छ । यसैले पनि चुनावी प्रतिस्पर्धा यसपटक कस्तो हुनेछ भन्ने कौतुहलता देखिएको छ । चुनावी तयारी र नतिजाका विषयमा कांग्रेसबाट मेयरमा उम्मेदवार बनेका चिरिबाबुसँग नेपालवाचले गरेको कुराकानी :
चुनावी प्रचारको अन्तिम तयारीमा पुग्दा तयारीप्रति कत्तिको सन्तुष्ट हुनुभएको छ ?
एकदमै राम्रो तयारी भएको छ । घरदैलो कार्यक्रम मंगलबार बिहानबाट सक्यौं । दिउसो आमसभा सकेपछि चुनावी प्रचारप्रसार सकिंदैछ । प्रभावकारी र राम्रो तयारीले म उत्साही छु ।
तपाईं पुरानै उम्मेदवार हुनुहुन्छ । प्रतिस्पर्धी पनि पुरानै पाउनुभएको । पुरानै नेतासँगको प्रतिस्पर्धा कस्तो हुने ठान्नुभएको छ ?
संयोगले ललितपुरमा योपटक हामी पुरानै प्रतिस्पर्धीबीच मेयरमा प्रतिस्पर्धा हुँदैछ । तर नयाँ उम्मेदवार हुँदा केही दबाब हुन सक्थ्यो होला । अघिल्लोपटक हराएको प्रतिस्पर्धी पाउँदा मेरो निम्ति सहज भएको छ । म यसपटक पनि ढुक्कले मेयरमा जित्छु ।
अघिल्लोपटक साँघुरो अन्तरले जितेको साँचो हो । तर योपटक दशगुणा अर्थात् कम्तिमा ३२६० मत मत ल्याएर जित्छु भन्ने मेरो अनुमान छ ।
तपाईंको २०७४ सालको जित पनि साँघुरो थियो । जम्मा ३२६ मतान्तरले जित्नुभएको थियो । यत्ति साँघुरो जित निकालेको तपाईं कसरी यत्ति ढुक्क हुन सक्नुभएको हो ?
अघिल्लोपटक जितेको नै एउटा आधार हो । मुख्य प्रतिस्पर्धी मैसँग हारेको भएपछि अर्को सहजता भएको छ । पाँच वर्षमा ललितपुर महानगरमा पार्क, सडकपेटी, सांस्कृतिक सम्पदको पुनर्निर्माण जस्ता काममा हामीले देखिने गरी नतिजा दिएका छौं । वाग्मति पुल तर्नेवित्तिकैदेखि ललितपुर सहर कसरी फरक छ भन्ने देखिन्छ । राम्रा र आकर्षक फुटपाथ, साइकल लेन, सडकवत्ति सफा र चिल्ला सडक, भित्री गल्लीका व्यवस्थित र ढुंगा छापेको बाटो यत्रतत्र देखिन्छ । यी कामकै आधारमा हामीलाई महानगरबासीले जिताउँछन भन्ने लागेको छ ।
तर तपाईंले अघिल्लोपटक ल्याएको मतान्तरले प्रतिस्पर्धीले पनि थोरै मेहनत गर्दा जित निकाल्न त असम्भव देखिंदैन नि ?
त्यस्तो हुन्न । अघिल्लोपटक साँघुरो अन्तरले जितेको साँचो हो । तर योपटक दशगुणा अर्थात् कम्तिमा ३२६० मत मत ल्याएर जित्छु भन्ने मेरो अनुमान छ । यो कांग्रेसको मात्रै मतको हिसाव हो । गठबन्धनको तर्फबाट मत थपिंदा मलाई जित्न कुनै गाह्रो छैन । सहजै जित्छु ।
एक्लो एमालेविरुद्ध गठबन्धन बनाएर लड्दा पनि यत्ति साँघुरो अन्तरको जित निकाल्छु भन्दा तपाईंमा कतै हारिन्छ भन्ने डर त होइन ?
अघिल्लोपटक कांग्रेसमा पनि आन्तरिक असन्तुष्टि थियो । तर यसपटक हामी सिंगो कांग्रेस एक भएका छौं । मैंले माथि भनेको मत कांग्रेसको स्वभाविक मत मात्रै हो । हामी मेयरमा र उप मेयरमा माओवादीको उम्मेदवार हुँदा यो संख्या अझै बढेर जान्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन हामी आवद्ध सबै दल लागिपर्छौ ।
ललितपुरलाई अझै सफा, व्यवस्थित धेरैले प्रशंसा गर्ने महानगर बनाउँछौं । यसको छनक हामीले जितेको केही समयदेखि नै सबैले देख्न पाउनेछन् ।
तपाईंले गरेका केही साना कामको फेहरिस्त त दिनुभयो तर प्रतिवद्धतामा जनाउनुभएको खानेपानी, फ्लाइओभर, फोहोरमैला व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको त साँचो हो नि ?
कार्यकारीका रुपमा मैंले मेयर जितें । तर महानगरमा कम वडा अध्यक्ष जित्दा अल्पमतमा परियो । यसले पनि आफ्ना सबै योजना लागू गर्न गाह्रो भने भएको हो । विपक्षीले वास्तविक र गर्नैपर्ने काममा पनि दुःख दिएकोले मिलाउन समय लाग्यो । यसले गर्दा कार्यकर्ता र नागरिकको कतिपय सवाललाई नजिकबाट ध्यान दिन नसकिएको साँचो हो । सबैतिर ध्यान दिन नसकिएकोमा म क्षमाप्रार्थी छु । अब जितेर पहिलेको कमजोरीलाई सुधार्ने वाचा गर्छु । अब आन्तरिक व्यवस्थापन गरेर कसरी काम गर्नुपर्छ भन्ने यो पाँच वर्ष सिकाएको छ। यसैले अब जित्दा नतिजा धेरै राम्रो देखाउन सकिन्छ भन्ने आत्मविश्वास ममा छ ।
अघिल्लोपटक पनि कांग्रेसले जितेको ठाउँ हो ? कतिपय गुनासो अझै छन्, फेरि मतदाताकोमा जाँदा के प्रतिवद्धता बोकेर जानुभयो ?
ममा ढोंग छैन । चिरिबाबु कस्तो हो भनेर मिडियाले पनि लेखेका छन् । जनताले पनि देखेका छन् । यस्तो छु भनेर भन्नै पर्दैन । मेरो पक्षमा राम्रोे जनमत छ । हिजोको गाविस र नगरपालिकासमेत ललितपुर महानगरमा आएपछि धेरै सहजता भएको छ । हिजो सहरमै पनि सहर र गाउँ भन्ने बुझाइ थियो । यसैले सम्बन्ध राम्रो थिएन । तर पहिलेका गाविस भएका सहरसँग जोडिएका भागमा झन् राम्रो सम्बन्ध बनेको छ । विकास निर्माण पनि यी ठाउँमा राम्रो भएको छ । अझै राम्रो गर्ने प्रयत्न अब हुनेछ ।
पाँच वर्ष महानगर चलाउनुभयो । देखिने केही सुधारका काम गर्नुबाहेक घोषणा गरेका केही ठूला योजना पूरा नहुनुका कारण के त ?
हामीले अघि सारेको सबैभन्दा ठूलो योजना वाग्मतीदेखि पुल्चोकसम्मको फ्लाइओभर हो । यसको लागि पेपरवर्कको काम सकिएको छ । हामीले ललितपुरमा बनाएर काठमाडौंमा थापाथली हुँदै माइतीघरमा जोड्ने भनेका थियौं । तर माइतीघरको लाइनिङका लागि काठमाडौंबाट कुनै कदम अघि बढेन । यसैले हामी काम सुरु गर्न हतारिएनौं । अबको पाँच वर्षमा भने यो योजनालाई आपसी समन्वयमा मूर्त रुप दिन लाग्छौं । फाेहाेरमैलाकाे व्यवस्थापन पनि दीर्घकालीन रूपमा गर्छाैं ।
अब जितेपछिको योजना के-के छन् ?
हिजोको अनुभवले धेरैकाम गर्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभव बटुल्ने काम भएको छ । अघिल्लो कार्यकालको अनुभवबाट धेरै सिक्ने अवसर मिलेको छ । हामीले नै सुरु गरेका अधुरा कार्यक्रमलाई पूरा गर्न लाग्छौं । धेरै योजना बनाएका छौं । अब तिनको कार्यान्वयनमा लाग्छौं । ललितपुरलाई अझै सफा, व्यवस्थित धेरैले प्रशंसा गर्ने महानगर बनाउँछौं । यसको छनक हामीले जितेको केही समयदेखि नै सबैले देख्न पाउनेछन् ।
५ दल मिल्दा पनि तीन महानगरपालिकामा एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब
प्रतिक्रिया