माओवादीे केन्द्रीय कमिटीलाई पूर्णता दिन ‘फाइनल टच’ दिंदै प्रचण्ड, को–को बन्लान् केन्द्रीय सदस्य
काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीले आज पूर्णता पाउने भएको छ ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी, संगठनात्मक कार्यविभाजन, स्थायी कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य थप, पदाधिकारी चयन, स्थानीय तहको चुनावलगायतका एजेण्डा पेश गरेका थिए ।
बैठक बिहान ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने केन्द्रीय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । अमेरिकी सहयोग परियोजना एमसिसीबारे अर्को बैठकमा छलफल हुने जानकारी गजुरेलले दिए । व्याख्यात्मक टिप्पणीसहित १५ फागुनमा बसेको प्रतिनिधि सभा बैठकबाट एमसिसी सम्झौता अनुमोदन भएपछि माओवादी केन्द्रभित्र पूर्वएकता केन्द्र समूहले विरोध जनाउँदै आएको छ ।
‘आजको बैठकले स्थानीय तह निर्वाचन तयारी सम्बन्धमा रणनीति र कार्यक्रम तय गर्छ । त्यही अनुसार नेताहरूको पदीय जिम्मेवारी र कार्यविभाजनबारे छलफल हुन्छ’, गजुरेलले भने, ‘एमसिसी सम्झौताबारे देखिएको विवादबारे अर्को बैठकमा छलफल हुने कार्यसूची तय भएको छ ।’ केन्द्रीय सदस्य खुलासहित समावेशी कोटाबाट चयन गर्नुपर्नेछ । केन्द्रीय सदस्यमा पर्नका लागि नेताहरूले लबिङ गरिरहेका छन् ।
अर्का एक केन्द्रीय सदस्यका अनुसार आज बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ । ‘आइतबार बसेको शीर्ष नेताहरूको बैठकले बाँकी रहेका केन्द्रीय सदस्यहरूको नामावली तय गरी अन्तिम रूप दिन अध्यक्षकोमा पठाइएको छ’, एक नेताले भने, ‘अध्यक्षले नामावली स्वीकृत गरिसकेपछि बिहान बस्ने बैठकमा पेश गर्नुहुनेछ । मनोनितसहित केन्द्रीय कमिटीले आजै पूर्णता पाउनेछ ।’
पुस ११–१८ काठमाडौंमा भएको आठौं महाधिवेशनले २९९ केन्द्रीय कमिटीमध्ये २३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । केन्द्रीय कमिटीको १० प्रतिशत थप सदस्य अध्यक्षले मनोनित गर्न पाउने वैधानिक व्यवस्था छ । पदाधिकारी सम्बन्धमा आजको बैठकमा छलफल नहुने जानकारी गजुरेलले दिए । उनका अनुसार केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्र त्यसले पदाधिकारी चयन गर्नेछ । १९ पुसमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेतापनि बाँकी पदाधिकारीमा आकांक्षी धेरै भएपछि पूर्णता पाउन सकेको छैन ।


प्रतिक्रिया