NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमसिसीबारे अपरिपक्व निर्णयले नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन क्षति भोग्दैछ : एमाले

काठमाडौं । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अमेरिकी परियोना एमसिसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरूको अपरिपक्व व्यवहारका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन क्षति उत्पन्न भएको टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसिसीको कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नको लागि निकै समय लाग्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘एमसिसीबारे राजनीति धेरै गिजोलियो, पारित भएपछि हाम्रो पार्टीको धारणा आइसकेको छ । अब यसमा धेरै व्याख्या गर्नुहुँदैन । हामी पनि सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अबिछिन्न सरकारको निरन्तरताको जिम्मेवारी महशुस गरेर अघि बढाउने काम गरेका थियौं, तर त्यतिवेला पनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा यो पहिलोपटक हो । अरनीको राजमार्ग बनाउँदा पनि भएको थिएन ।’

नेता भट्टराईले सुरुमा एमसिसीको समर्थन गर्नेहरूले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे ।

‘यहाँ अपरिपक्व खालको क्षमता देखाउने काम भयो । यो मुलुकको लागि अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालीन रूपमा लिएर जानको लागि ‘ड्यामेज’ गरेको छ’, उनले भने, ‘यसको कन्ट्रोल गरेर रिपेर गर्नको लागि निकै समय लाग्छ । एमसिसीको कारण भोलि कुनै देशले हामीसँग सम्झौता गर्दा उनीहरू सोच्ने अवस्थामा पुगेका छन् । समग्रतामा यसले ड्यामेज गरेको छ । यसमा जो जिम्मेवार हो, उनीहरूले यो जिम्मा लिनुपर्छ ।’

उनले रुसले युक्रेनमाथि गरेको आक्रमण अनुचित रहेको टिप्पणी गरे । उनले भने, ‘रुसले युक्रेनमाथि जुन आक्रमण गरेको छ, यो अनुचित छ । जेसुकै कारण भएपनि यो आक्रमण गलत हो । २१औं शताब्दीमा यो आक्रमण र सैन्य हस्तक्षेप मान्न पनि सक्दैनौं । हामी अहस्तक्षेपको सिद्धान्तमा छौं । विश्व शान्तिपूर्ण माध्यमबाट नै सबै समस्याको समाधान हुनुपर्छ ।’

अहिले माइट इज राइटको समय होइन । शक्तिको बलमा जाने कुराको हामी विपक्षमा छौं । हामी शान्तिपूर्ण पक्षमा छौं । यो युद्ध छिटो अन्त्य होस् । नेपालीहरूको उद्धार होस् । सरकारमा अहिले वक्तव्यमा तत्तपरता देखियो । तर, आफ्नो नागरिकको उद्धार गर्न उदासिन देखियो । यो सरकारको यस्तो संवेदनशीलतामा सक्रियता देखिएन । युक्रेनको मामिलामा होस् या अरु मामिलामा यो सरकार आफूलाई असक्षम दर्ज गरिरहेको छ ।’