NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेसबाट ७७ वटै जिल्लामा जाने केन्द्रीय प्रतिनिधिले के गर्छन् ?

काठमाडौं । कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि बिहीबारबाटै जिल्लाजिल्लामा जाने जानकारी दिए ।

२९ फागुनदेखि २९ चैतसम्म देशभर गर्न लागेको अभियानका लागि प्रभावकारी काम गर्ने समन्वयको लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको महतले जानकारीदिए ।

‘हामीले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाएका छौं । उहाँहरूको मूल जिममेवारी स्थानीय पार्टी पंक्तिलाई अभिप्रेरित गर्ने, प्रभावकारी रुपले परिचालन गर्ने काम गर्नुहुन्छ’ महतले भने, ‘प्रदेश कमिटी, जिल्ला, प्रदेश निर्वाचन समितिदेखि पालिका, वडा र टोल समितिसम्मै प्रभावकारी रुपमा परिचालन गर्छौ ।’

पार्टीको तल्लो तहको पंक्ति र नागरिक तह पालिका, वडा र टोल समितिसँग जोडिने भन्दै महतले भ्रम चिर्ने र बुझाउने काम तल्लो तहकै संरचनाको भएको बताएका । कांग्रेसलाई जिताऔं भन्ने अभियानलाई तल्लो तहका नेता कार्यकर्ताले नै घरघरमा लाने उनले बताए ।

कांग्रेसले स्थानीय तहलाई जिताउने अभियान, अघिल्लो सरकारको भण्डाफोर, कांग्रेस सरकारको प्रभावकारी कदम, एमसिसीबारे बुझाउनेसहितका विषयमा कार्यकर्ता र नागरिक तहसम्मै अभियान पुर्याउने भएको हो । यो अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदैछ । एमसिसी नेपालकाे हितमा रहेकाे भन्दै कांग्रेसले यसबारे देशभर प्रचारसमेत गर्दैछ । कांग्रेसले  ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान   अघि सारेकाे छ । 

चुनावमा स्थानीय तहको छुट्टै घोषणापत्र हुने पनि उनले बताए । आवश्यकता अनुसार घोषणापत्र बनाउन बुद्धिजिवी प्राध्यापक, समाजसेवीसँग समन्वय गर्न पनि उनले आग्रह गरे ।

अभियानको क्रममा एमसिसीको भ्रमलाई चिर्न पुस्तिका नै नागरिक तहलाई बाड्ने पनि महतले जानकारी दिए ।
कांग्रेसले पदाधिकारी र शीर्ष नेताबाहेकका केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानमा यस्ता छन् कांग्रेसका ८ उद्देश्य