उत्कृष्ट घोषित ७ नगरपालिकामा गत स्थानीय तहको चुनाव कुन दलले जितेका थिए ?

काठमाडौं । आइतबार देशभरका सात उत्कृष्ट नगरपालिका घोषित भएका छन् । नेपाल नगरपालिका संघको २९ औं वार्षिक साधारणसभामा देशभरका ७ वटा उत्कृष्ट नगरपालिका घोषणा गरिएको विभिन्न विधागत कामको आधारमा सातवटा नगरपालिका घोषणा गरिएको हो । सात उत्कृष्टमध्ये दुईवटा महिलाले नेतृत्व गरेका नगरपालिका छन् । जसमा चितवनको राप्ती र स्याङजाको पुतलीबजार नगरपालिका छन् । ती दुवैमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर र उपमेयर विजयी भएका थिए ।
यसरी उत्कृष्ट हुनेमा संस्थागत विकासतर्फ स्याङजाको वालिङ र पुतलीबजार नगरपालिका छन् । सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेको छ । स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको छ ।
वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको छ । सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका छन् ।
कुन नगरपालिकामा कुन दलले मेयर र उपमेयर जितेका थिए ?
सात नगरपालिकामध्ये कांग्रेसले स्याङजाको वालिङ र धादिङको नीलकण्ठ नगरपालिकाको नेतृत्व जितेको थियो । यस क्रममा वालिङको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । धादिङको नीलकण्ठमा मेयर कांग्रेसले र उपमेयर माओवादीले तालमेलमा जितेका थिए । एमालेले स्याङजाको पुतलीबजार, सर्लाहीको हरिवन, रुपन्देहीको तिलोत्तमा, इलामको इलाम र चितवनको राप्ती नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको थियो ।
वालिङमा मेयर र उपमेयर दुवै कांग्रेस
वालिङमा गत स्थानीय तहको निर्वाचनबाट मेयरमा कांग्रेसका दिलीपप्रताप खाण विजयी भएका थिए । खाण १० हजार ६ सय मत ल्याएर विजयी हुँदा पराजित एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार ७४९ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी ९ हजार ८९५ मत ल्याएर विजयी भइकी थिइन् ।
पुतलीबजारको मेयर र उपमेयर दुवैमा एमाले
स्याङजाको पुतलीबजार नगरपालिका पनि संस्थागत विकासतर्फ उत्कृष्ट बनेको छ । गत स्थानीय तहको चुनावमा पुतलीबजारको मेयरमा एमालेकी सीमा क्षेत्री विजयी भएकी थिइन् । उनले कुल १० हजार २४९ मत ल्याएकी थिइन् । काँग्रेसका तुलसीराम रेग्मी नौ हजार २९ मत ल्याएर पराजित भएका थिए । उपप्रमुखमा एमालेकै महेश पुरी १० हजार ३८८ ल्याएर विजयी हुँदा कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याएकी थिइन् ।
नीलकण्ठमा मेयर कांग्रेस, उपमेयर माओवादी
सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेको छ । गत स्थानीय तह निर्वाचनमा धादिङ नीलकण्ठ नगरपालिकाको मेयरमा काँग्रेसका भीमप्रसाद ढुङ्गाना विजयी भएका थिए । ढुङ्गानाले १३ हजार १ सय ६६ मत ल्याउँदा पराजित एमालेका अर्जुनकुमार श्रेष्ठले जम्मा ६ हजार ६ सय ९० मत ल्याएका थिए ।
उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी १० हजार ३ सय २३ मतले विजयी हुँदा नेकपा एमालेबाट गंगादेवी श्रेष्ठके ७ हजार ४ सय ४४ मत मात्रै अएको थियो । कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए ।
हरिवनमा मेयर र उपमेयर दुवैमा एमाले
स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको छ । हरिवन मेयरमा एमालेका गणेशप्रसाद प्रसाईले विजयी भएका थिए । उनले ६०५४ मत ल्याउँदा माओवादी केन्द्रका रमेश बुढाथोकीले ५१८४ मत ल्याएका थिए । उपमेयरमा एमालेकी रेणुकाकुमारी पौडेलले ५९९८ मतले विजयी हुँदा माओवादी केन्द्रकी पदमा मोक्तानले ४४३६ मत ल्याएकी थिइन् ।
इलामको मेयर उपमेयर दुवैमा एमाले
वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको छ । मेयरमा एमालेका महेश बस्तेत विजयी भएका थिए । उनले ११ हजार ३३ मत ल्याउँदा कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २ सय ६८ मत ल्याएका थिए । उपमेयरमा एमालेकै सुशीला नेम्बाङ १० हजार ९ सय ४६ मतले विजयी हुँदा कांग्रेसकी चन्दा कार्कीले ९ हजार २ सय ५४ मत ल्याएकी थिइन् ।
तिलोत्तमाको मेयर र उपमेयर दुवैमा एमाले
सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका छन् । तिलोत्तमामा गत चुनावमा एमालेका बासुदेव घिमिरे विजयी भएका थिए । उनले १९ हजार ८४ मत ल्याएका थिए । कांग्रेसका रामकृष्ण खांणले १६ हजार २ सय ६४ मत ल्याएर पराजित भएका थिए । उनी अहिलेका गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन् । उपमेयरमा एमालेकै जागेश्वरी चौधरी १९ हजार २ हजार २४ मतले विजयी हुँदा राष्ट्रिय जनमुक्तिकी गीता सारुको १६ हजार ६ मत आएको थियो ।
चितवनको राप्तीमा मेयर उपमेयर दुवैमा एमाले
चितवनको राप्ती सामाजिक विकासतर्फ उत्कृष्ट बनेको छ । राप्ती नगरपालिकामा गत चुनावमा एमालेबाट प्रभा बराल विजयी भएकी थिइन् । उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । कांग्रेसका किरण भुषण ओलीले ७२९२ मत ल्याएका थिए । उपमेयरमा एमालेका इमानसिंह लामा ११८८२ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अनिता मैनालीले ७०७४ मत प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया