NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमाले पोलिटब्युरो बैठक : निर्वाचन आयोगमाथि ओलीले लगाए ४ आरोप

काठमाडौं । नेकपा (एमाले) पोलिट्ब्युरोको काठमाडौंमा जारी प्रथम बैठक अध्यक्ष केपी शर्मा ओली निर्वाचन आयोगविरुद्ध कडा रूपमा प्रस्तुत भएका छन् ।

समसामयिक राजनीतिक परिस्थितिसँगै आसन्न निर्वाचन तयारीबारे छलफल गर्न ओलीले आज पोलिटब्युरो बैठक बोलाएका हुन् । बैठकलाई सम्बोधन गर्दै ओलीले आयोग एमालेविरुद्ध लागेको आरोप लगाए । आयोगले बिहीबार जारी गरेको निर्वाचन आचारसंहिताप्रति कटाक्ष गर्दै उनले आगामी चुनावमा एमालेलाई अप्ठ्रो पार्न संविधानविपरीत प्रावधान राखिएको टिप्पणी गरे ।

‘निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने आयोग एमालेविरुद्ध लागेको छ । आगामी चुनावमा एमालेलाई अप्ठ्रो पार्न स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको छ’, बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आयोगको भूमिका शंकास्पद छ । आफूहरूसँग परामर्श नलिइ आयोगले आचारसंहिता बनाएको छ । आगामी चुनावमा सूर्यलाई ओझेल पर्न दिदैनौं ।’

उनले स्थानीय तहमा एमाले बलियो रहेको र प्रदेश तथा संघमा गठबन्धनको सरकार रहेकाले आफूहरूलाई कमजोर बनाउ राजीनामाको प्रावधान राखिएको जिकिर गरे ।

‘प्रदेश र संघमा गठबन्धनको सरकार छ । स्थानीय तहमा एमाले बलियो छ । जनप्रतिनिधिले राजीनामा दिनुपर्ने बाध्यकारी नियम राखेपछि बहुसंख्यक एमालेबाट निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्छ’, उनले भने, ‘प्रदेश र संघीय मन्त्री, मूख्यमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने अनि स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान किन राखियो । नियत प्रष्टै छ, यो प्रवाधानले एमाले अप्ठ्यारोमा पर्छ भन्ने कांग्रेसको योजनामा आयोग सहयोगी बनेको छ ।’

त्यस्तै उनले मतपत्रको रङ हरियो बनाएकोमा समेत आक्रोश पोखेका छन् । अहिलेसम्म मतपत्रको रङ्गको विषयलाई लिएर कसैले प्रश्न उठाएका थिएनन् । अहिले आएर कांग्रेसको रुखसँग मिल्ने गरी रङ्ग किन परिर्वन गर्नुप¥यो भन्दै उनले आयोगमाथि प्रश्न उठाएका छन् । उनले रुख हरियो हुँदैमा सूर्य कहिल्यै हरियो हुन नसक्ने बताए ।

त्यस्तै ओलीले आयोगले उम्मेदवारको मनोनयनको समय दुई दिन राखेकोमा पनि आपत्ति जनाएका छन् । मनोनयन गर्ने समय एक दिनको हुने विश्वभरको मान्यतालाई लत्याउँदै गठबन्धनको झगडा मिलाउन आयोगले सहयोग गरेको आरोप लगाए ।

‘दुई दिन मनोनयन गर्ने प्रावधान विश्वमै नभएको नियम आयोगले आचारसंहितामा राखेको छ । यसको उदेश्यक गठबन्धनको झगडा मिलाउने देखिन्छ । यसको उदेश्य आगामी चुनावमा एमालेलाई कमजोर बनाउने हो’, उनले भने ।

यसैगरी उनले आयोगका कारण एमाले विभाजन गरेको आरोप लगाए । ‘माधव नेपालको दल दर्ता गर्न आयोगले हतार गरेर एमाले विभाजन भयो’, ओलीले भने, ‘अवैधानिक दल दर्ता गर्न आयोगले हतार नगरेको भए एमाले विभाजन हुने थिएन ।’

आजको बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । बैठकले स्थानीय तहको तयारी सम्बन्धमा छलफल गर्न ९ र १० गते बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्नेछ । बाँकी विषय चैत १३ मा बस्ने स्थायी कमिटी बैठकले टुंग्याउने छ ।