बझाङमा चुनाव लाग्यो : गाउँ फर्किए नेता, जुटे प्रचारप्रसारमा
सुनिल मण्डेल, बझाङ । स्थानीय तहको चुनाव नजिकिएसँगै बझाङमा चुनावी अभियानले तीव्रता पाएको छ । १० वटा गाउँपालिका र २ नगरपालिका रहेको जिल्लामा हरेक दिन विभिन्न पार्टीका कार्यक्रम भइरहेका छन् । टोल, गाउँसँगै पालिका र जिल्ला स्तरमा सबै पार्टीहरूले चुनावलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन् ।
फागुन महिनाको २९ गते देशभर एकसाथ घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियानको प्रारम्भका साथ पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकको अगुवाइमा बझाङका विभिन्न स्थानीय तहमा कार्यक्रमको आयोजना गरिएको जिल्ला सभापति खडक बोहराले बताए ।
उक्त अभियानमा नेता कार्यकर्ता गाउँगाउँमा पुगेको नपाली कांग्रेस बझाङले जनाएको छ । जिल्लाका १२ वटा पालिकाका ९४ वटै वडामा कांग्रेसले घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान कार्यक्रम सञ्चालन गरेको बताएको छ । योसँगै आगामी कार्ययोजना बनाउने उद्देश्यले कांग्रेसले वडा स्तरीय बैठकहरू पनि सम्पन्न गरेको छ ।
जिल्लाका १२ वटा स्थानीय तहमध्ये ६ वटामा कांग्रेसले कार्यक्रम सञ्चालन गरिसकेको पार्टीको जिल्ला कार्यसमितिका सचिव उत्तम रोकायाले जानकारी दिए
उनका अनुसार जसमध्ये सुर्मा, मष्टा, छब्बीस पाथीभेरा, दुर्गाथली, थलारा र केदारस्यूँ गाउँपालिका छन् । यस्तै बाँकी रहेका ६ पालिकामा पनि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए । यस्तै एकीकृत समाजवादीले पनि आफूहरूले चुनावी अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्ला अध्यक्ष इन्द्रबहादुर भण्डारीले चुनावी अभियानअन्तर्गत पार्टीका कार्यक्रमहरू गरिरहेको बताए ।
अहिले पार्टीका केन्द्रीय सदस्यहरू जिल्लामै गाउँघर अभियानमा जुटेका छन् । अहिले आफ्नो पार्टी स्थानीय चुनावी अभियानमै केन्द्रित रहेको उनले बताए ।
यता माओवादी केन्द्रले पनि जिल्लामा चुनावी कार्यक्रमहरू गरिरहेको छ । जिल्लाका विभिन्न स्थानमा गरिरहेको हो । चुनावी अभियान तीव्र भएसँगै धेरै समय जिल्ला बाहिरै बस्ने जिल्लाका नेताहरू पनि गाउँ फर्किएर आ–आफ्नो पार्टीको प्रचारप्रसार अभियानमा जुटेका छन् ।
प्रतिक्रिया