NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सातै प्रदेश अध्यक्षको रिपोर्टिङ : एमाले पहिलो दल बन्छ, कांग्रेस दोस्रो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको चुनावमा एमाले पहिलो दल हुने रिर्पोटिङ गरिएको छ ।

बबरमहलमा बसेको बैठकमा सातै प्रदेशका अध्यक्षले जिल्लागत रूपमा पार्टीको अवस्थाबारे जानकारी प्रस्तुत गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि सातै प्रदेशका अध्यक्षले प्रदेशमा पार्टीको अवस्थाबारे रिर्पोटिङ गरेका थिए ।

प्रदेश १ का अध्यक्ष तुल्सी न्यौपाने समग्रमा एमालेका लागि राम्रो भएको जानकारी दिएका थिए । मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवले पहिलेको तुलतामा मधेसमा केही सुधार आएको बताएका थिए । यसअघि एमालेप्रति नकारात्मक भ्रम सिर्जना भएकाले पार्टीले अपेक्षिकृत नतिजा हासिल गर्न नसकेको उनको भनाइ थियो । पछिल्लो समय एमालेप्रति मधेसी जनता आकर्षित भएपनि ढुक्क हुने अवस्था नभएको उनले रिर्पोटिङ गरेका थिए ।

त्यस्तै बाग्मतीका अध्यक्ष केशव पाण्डेले पार्टी विभाजनको असर यस प्रदेशमा शून्य रहेको बताएका थिए । एमालेप्रति जनताको अकर्षण बढेकाले आगामी चुनावमा एमाले नै ठूलो दल हुने उनले दाबी गरेका थिए ।

गण्डकीका अध्यक्ष नवराज शर्मा, लुम्बिनीका अध्यक्ष राधाकृष्ण कँडेल, कर्णालीका अध्यक्ष विनोदकुमार शाह र सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले समग्रमा पार्टी विभाजनले एमालेलाई खासै असर नगरेको रिर्पोटिङ गरेका थिए ।

रिर्पोटिङका क्रममा उनीहरूले एमाले लोकप्रियताका साथ पहिलो शक्ति रहेको, पार्टीप्रति तीव्र जनआकर्षण बढेको, आधारभूत तहदेखिकै कमिटीहरू चयालयमान भएको बताएका थिए । उनीहरूले मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो हुने बताएका छन् ।