NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एन्फाका पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने पुनः स्पष्ट पारेको छ । फिफाले पूर्वअध्यक्ष थापालाई कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी १० वर्षको प्रतिबन्ध लगाएको छ ।

सन् २०१५ मा फिफा एथिक्सको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने घुसखोरी र भ्रष्टाचार आरोपमा १० वर्ष प्रतिबन्धको घोषणा गरेको थियो । फिफाले तत्काल २० हजार स्विस फ्रान्क जरिवाना तिर्न आदेश दिएको थियो ।

फिफाले एन्फाका महासचिव इन्द्रमानलाई बुधबार लेखेको पत्रमा पूर्वअध्यक्ष थापालाई प्रतिबन्धका समयमा प्रशासनिक खेलकुद वा अन्य कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने भनिएको छ । फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जिनमारी र ए ए फसिका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्वअध्यक्षमाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराएका हुन् ।

‘जबसम्म प्रतिबन्ध कायम रहन्छ, फिफाले एन्फा र यसका सदस्यले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तर, प्रशासनिक खेलकुद वा अन्य कुनै पनि प्रकारको फुटबलसम्बन्धी गतिविधिमा संलग्न हुन जानाजान अनुमति नदिने अपेक्षा गर्छ,’ पत्रमा भनिएको छ ।

सो पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरे थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्ने चेतावनीसमेत दिएको छ । गत साता थापाले पत्रकार सम्मेलन गर्दै फिफाले आफूमाथि लगाएको प्रतिबन्धलाई सहजै स्वीकार गरेको जनाएका थिए । तर उनले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएको आरोपमध्ये १४ वटा बुँदा प्रमाणित गर्न चुनौती दिएका थिए, नयाँ पत्रिकामा खबर छ ।