भ्रष्टाचार मुद्दाका अभियुक्त नै जनप्रतिनिधि बन्ने होडमा

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार कैलालीस्थित मोहन्याल गाउँपालिकाका निर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायलाई पद तथा गोपनियताको शपथ ग्रहण रोक्न निर्देशन दियो ।
उपाध्याय यसअघिका वडाध्यक्ष हुन् । वडाध्यक्ष हुँदा राजस्व चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गर्यो । तर, अदालतमा मुद्दा विचाराधिन अवस्थामा हुँदा उनी यो स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए । उनीसँगै मुद्दा परेका निवर्तमान वडाध्यक्ष नन्दराम गिरी पनि अहिले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
भ्रष्टाचार मुद्दा खेपिरहेको अवस्थामा जनप्रतिनिधि बन्न होडमा रहेका उपाध्याय एक्ला भने होइनन् । उनीसँगै कयौं निवर्तमान जनप्रतिनिधि भ्रष्टाचारको मुद्दा चलिरहेको अवस्थामा उम्मेदवार बनेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा ३२ जना निर्वाचित जनप्रतिनिधिलाई भ्रष्टाचारविरुद्धको मुद्दा दायर गर्यो ।
आयोगले चालु आवमा दुई नगरपालिकाका मेयर, एक नगर उपप्रमुख, तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १४ वडाध्यक्ष, चार गाउँ कार्यपालिका सदस्य र ६ वडा सदस्यलाई मुद्दा दायर गरेको छ ।
त्यसमध्ये उपाध्यायसहित सात जनप्रतिनिधि पुनः चुनावमा उम्मेदवार बने । रौतहटस्थित देवाही गोनाही नगरपालिकाका निवर्तमान मेयर धर्मेन्द्रप्रसाद पटेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट पुनः मेयर पदका उम्मेदवार छन् । सेवाग्राहीलाई अन्तिम बिल दिने क्रममा ५ लाख घुससहित पटेल रंगेहात पक्राउ परेका थिए । सोही आरोपमा आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
सर्लाहीस्थित ईश्वरपुर नगरपालिका वडा नं ११ मा उमेश राय लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाध्यक्षमा पुनः उम्मेदवार बनेका छन् । उनलाई चालु आवमा ढलानसम्बन्धि कार्य सम्पन्न पछि सिफारिस बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएको आरोपमा अर्का वडा सदस्य सोनेलाल साहसहित आयोगले मुद्दा दायर गरेको छ ।
स्याङ्जास्थित भिरकोट नगरपालिका वडा नं ९ का निवर्तमान अध्यक्ष भीमबहादुर गुरुङलाई दोहोरो नागरिकता बनाइदिने नाममा भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ । उनी पनि अहिले वडाध्यक्षको प्रत्यासी हुन् ।
त्यस्तै, सर्लाहीस्थित ईश्वरापुर नगरपालिका वडा नं ११ का निवर्तमान वडाध्यक्ष राम दुलार साहमाथि कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस लिएको आरोप छ । उनी पुनः लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट वडाध्यक्षका उम्मेदवार बनेका छन् ।
मकवानपुरस्थित कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टेकबहादुर मुक्तानलाई तालिम सञ्चालन गर्दा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । उनी पनि यो स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया