NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सुस्त ब्याटिङले जित्नैपर्ने खेल यसरी गुमायो नेपालले

काठमाडौं । आइसिसी क्रिकेट वल्र्डकप लिग २ मा ओमानविरुद्ध उत्कृष्ट बलिङका बाबजुद नेपाल पराजित भएको छ ।

अमेरिकामा जारी प्रतियोगितामा आज बिहान सकिएको खेलमा २१२ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाल जितसम्म पुग्न सकेन । ओमानले टस जितेर पहिले ब्याटिङ गर्दा नेपाली बलरले पहिलो बलदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ओमानले ८ विकेट गुमाएर २११ रन बनाउँदासम्म बलरले कुनै पनि बेला लय गुमाएनन् । बरु पहिलाे बलमा विकेट लिएर उत्कृष्ट बलिङको नमूना पेश गरे । तर सधैंको चिन्ताको विषय ५० ओभरमा चार आसपासको रनरेटमासमेत खेल्न नसक्दा महत्वपूर्ण खेलमा नेपाल पराजित हुन पुग्यो ।

कुशल भुर्तेल र आशिफ शेख घाइते भएपछि नेपालको ओपनिङमा सुनिल धमला र सुवास खकुरेल आए । सात बल खेलेर सुवास खकुरेल ३ रनमा आउट भए । खेल अघि ओपनर घाइते भएपछि अमेरिकाबाट खकुरेललाई तत्काल बोलाएर खेलाइएको थियो ।

नेपालको ४० रन हुँदा सुनिल धमला १२ रनको स्थितिमा आउट भए । याे उनकाे एकदिवसीयमा डेब्यु खेल हाे । १२ रन बनाउन उनले ३८ बल खर्चिए । नेपालको ७१ रन हुँदा रोहित पौडेल २० रनमा आउट भए । उनले यो क्रममा १७ बल खेले । खातामा ७९ रन हुँदा नेपालले चौथो विकेट गुमायो । देव खनाल ५३ बलमा ३४ रन बनाएर आउट भए । उनले पाँचवटा चौका लगाए । नेपालले १०४ को स्थितिमा भरपर्दा अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीलाई गुमायो । उनले यस क्रममा ३० बलमा १६ रन बनाए ।

नेपालको १४१ रन हुँदा छैटौं विकेटको रुपमा विनोद भण्डारीको विकेट गुम्यो । उनले ४६ बल खेल्दा १४ रन बनाए । ४६ बल खेल्दा उनले एउटा पनि चौका लगाउन सकेनन् । जबकी ५३ बलमा ३४ रन बनाउँदा देव खनालले चारवटा चाैका लगाएका थिए ।

विनोद आउट भएपछि करण केसीले नेपाललाई जितसम्म पुर्याउने आशा गरिएको थियो । रनरेट ८ भन्दा माथि बनाउनुपर्ने थियो । तर उनी पनि १३ बलमा ८ रन बनाउँदा ठूलो सट खेल्ने क्रममा आउट हुन पुगे । उनले एक चौका लगाए ।

एकातिर आरिफ शेखले विकेट बचाउँदै रन बढाउने कोशिश गरे पनि अरु ब्याटरको साथ पाएनन् । करण आउट भएपछि नेपालको आवश्यक रनरेट १० हाराहारी पुग्न लाग्दा सोमपाल कामीले जितसम्म पुर्याउने केही आशा देखाए । उनले १२ बलमा १३ रन बनाए । यस क्रममा एक चौका पनि लगाए । जोमिखपूर्ण दुई रन लिने क्रममा कप्तान सन्दीप लामिछाने पनि आउट भएपछि नेपालको नवौं विकेट गुम्यो ।

अन्तिम तीन ओभरमा नेपाललाई ३१ रन जितका लागि आवश्यक थियो । ४८ औं ओभरमा ९ र ४९ औं ओभरमा ८ रन आयो । अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक भयो । तर लगातार तीनवटा बल डट खेलेपछि आरिफ शेख पनि ७९ बल खेल्दा ६६ रनको स्थितिमा आउट भएपछि नेपालले दुई बल अगावै १३ रनको पराजय बेहोर्यो । शेखले ६ चौका प्रहार गरे ।

ओमानले खेलमा २२ चौका प्रहार गर्दा नेपालले १७ चौका प्रहार गर्यो । ओमानले एक छक्का प्रहार गर्दा नेपालले एउटा पनि प्रहार गर्न सकेन । नेपालले अन्तिम ओभरमा कुनै रन बनाएन । तर त्यस अघिका पाँच ओभरमा ४५ रन बनायो । तर जितसम्म पुग्न सकेन । सुरुवातदेखि मध्यक्रमका ब्याटरले स्ट्राइट रोटेट गर्दै एक पनि बटुल्न नसक्ने र चौका छक्का पनि प्रहार गर्न नसक्दा सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न नसकेको हो ।

नेपाली बलरको उत्कृष्ट बलिङका बाबजुद ओमानका लागि जेसन मकसुदले १२६ बलमा १०४ रन बनाए । खबर अलिले ६२ बलमा ३० रन बनाए । सोएब खानले ४९ बलमा २७ रन बनाए ।

नेपालको लागि करण केसीले १० ओभरमा ३८ रन दिंदा ५ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ४० रन दिएर एक विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन दिएर दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३८ रन दिंदा विकेट लिन सकेनन् । देव खनालले दुई ओभरमा १४ रन दिए ।

एकदिवसीय क्रिकेटको छनोट खेल मात्रै होइन यो एकदिवसीय मान्यता पाइराख्न पनि उत्तिकै महत्वपूर्ण खेल हो । त्रिदेशीय सिरिज अन्तर्गत अब नेपालले अमेरिकासँग नेपाली समय अनुसार भोलि राति खेल्नेछ ।

सात देश रहेको लिग २ मा ओमान ३४ खेलबाट ४२ अंक बनाएर पहिलो स्थानमा छ । १३ खेलमा १२ अंक रहेको नेपाल छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्ने टोलीले सिधैं एक दिवसीय विश्वकप खेल्न पाउनेछन् ।

स्कटल्याण्डको २० खेलबाट २८ अंक, युएईको २२ खेलबाट २६ अंक, अमेरिकाको २१ खेलबाट २० अंक र नामिबियाको १४ खेलबाट १४ अंक छ । २० खेलबाट पपुवा न्युगिनीले जम्मा २ अंक जोडेको छ । पुछारका दुई टिम एक दिवसीयबाट घटुवामा पर्नेछन् ।

प्रतियोगितामा एउटा सिरिजमा त्रिदेशीय खेलमा प्रत्येक टिमले चारचार खेल खेल्नेछन् । नेपालले लिगका पछिल्ला ५ खेलमा दुईमा जित र तीनवटामा पराजय बेहोरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष