NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

रोमाञ्चक बराबरीपछि दोस्रो खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी लिग २ मा को खेलमा नेपालले आज राति अमेरिकासँग खेल्दैछ । पहिलो खेलमा रोमाञ्चक बराबरी गरेको नेपाल ओमानलाई हराएलगत्तै अमेरिकासँग भिड्न लागेको हो । खेल नेपाली समय अनुसार आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

२७५ रन पछ्याएको अमेरिकालाई नेपालले अन्तिम ओभरमा रोमाञ्चक हिसाबले रोक्दै खेलमा बराबरी गरेको थियो । बराबरीपछि नेपाल र अमेरिकाले एकएक अंक बाँडेका थिए । तर ओमानविरुद्ध गएराति सात विकेटको प्रभावशाली जित हात पारेर उत्साही बनेको नेपाल अमेरिकासँग उसकै भूमिमा भिड्न लागेको हो ।

विश्वकप छनोटसमेत रहेको यो खेलमा जितेर नेपाल थप दुई अंक जोड्न चाहन्छ । लिगमा सात देश रहेका छन् । जसमा शीर्ष तीनमा रहने टिमले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

नेपाल ३६ मध्ये १५ खेल खेलेर १५ अंकसहित पाँचौं स्थानमा छ । ३६ वटै खेल खेलिसकेको ओमानले ४४ अंक जोडेको छ । स्कटल्याण्डले २० खेलबाट २८ अंक बटुलेको छ । युएईले २२ खेलबाट २६, अमेरिकाले २३ खेलबाट २१ अंक जोडेको छ । ६ खेल बढी खेलेको अमेरिका नेपालभन्दा ६ अंकले माथि छ ।

नेपालभन्दा पछाडि रहेको नामिबियाले १४ खेलबाट १४ अंक बटुलेको छ । आजको खेल जित्न सके नेपालले नामिबियालाई प्रष्ट रुपमा पछाडि छोड्नेछ । भने अमेरिकासँगको दुरी घटाउनेछ । अमेरिकालाई जित्न सके नेपालले १६ खेलबाट १७ अंक बटुल्नेछ ।

अमेरिका २४ खेलबाट २१ अंकमा मात्र हुनेछ । यस्तो भए अमेरिका ८ बढी खेल खेल्दा नेपालभन्दा ४ अंकले मात्रै अघि रहनेछ । बाँकी खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके नेपाल अमेरिकाभन्दा पनि अगाडि जानेछ । जसले नेपाल तेस्राेभित्र पर्ने गरी अघि बढ्न सक्छ ।