NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्वकप लिग २ मा कठिन मोडमा नेपाल, स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । लगातार हारेर दबाबमा आएको नेपालले आइसिसी विश्व लिग २ मा आज स्कटल्याण्डको सामना गर्दैछ ।

एक दिवसीय विश्वकप छनोटको समेत खेलमा नेपाल पछिल्ला खेलमा जितविहीन बन्दै आएको छ । यसैले स्कटल्याण्डसँगको १८ औं खेल नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ ।

सात टिममध्ये शीर्ष तीनमा रहने टिमले एकदिवसीय विश्वकप छनाेट खेल्न पाउनेछन् । लिग २ मा पुछारमा परेका चार टिम, च्यालेन्स कप (एकदिवसीय वरीयताका २१ देखि ३२ सम्मका टिमले खेल्ने प्रतियोगिता)का शीर्ष दुई टिमबीच प्लेअफ हुनेछ । यो प्लेअफका ६ टोलीमध्ये शीर्ष २ मा पर्नेले सुपर लिगका पुछारका ५ टिम, लिग २ का शीर्ष तीन टिमसँग विश्वकप छनोटका लागि खेल्नेछन् । यी १० टिमले खेल्ने विश्वकप क्वालिफायरबाट अंक तालिकामा शीर्ष दुईमा पर्ने टिमले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगको पुछारका पाँच टोलीमा आयरल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, जिम्वाब्बे र नेदरल्याण्डस् छन् । नेदरल्याण्डसबाहेकका यी सबै टोली टेस्ट मान्यताप्राप्त हुन् ।

यहाँबाट जाने दुई टिमसहित आयोजक भारत, सुपरलिगका सात गरी १० देशले एकदिवसीय विश्वकप खेल्ने हुन् । यसैले लिग २ मा शीर्ष तीनमा पर्न नसके पनि प्लेअफबाट नेपाल फेरि विश्वकप छनोटमा अघि बढ्न सक्छ ।

तर नेपाल १७ खेलबाट १५ अंकसहित छैटौं स्थानमा छ । शीर्ष तीनमा नपरे विश्वकप छनाेटकाे लागि फेरि प्लेअफमा नेपाल पुग्नेछ । शीर्ष ५ मा पनि नपरे एकदिवसीय मान्यता नै गुम्न सक्ने जोखिमको अवस्थामा नेपाल छ ।

यसैले आजको खेलमा २१ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा रहेको स्कटल्याण्डलाई हराउन सके नेपालको मनोबल थप बढ्नेछ । स्कटल्याण्डले पछिल्ला पाँचमध्ये तीनवटा खेल जितेकाे छ ।

पछिल्लो खेलमा नेपालले २२१ रनको औसत रन पछ्याउँदासमेत नामिबियालाई जित्न सकेन । ४० रनले पराजित हुँदा नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गरेको थियो ।

नेपाललाई हराएपछि नामिबियाले १६ खेलबाट १६ अंक नै बटुलेर नेपाललाई एक अंकले उछिनेको छ ।

अघिल्लो सिरिजमासमेत नेपाल अमेरिका र ओमानसँग जित्नैपर्ने खेलमा कमजोर ब्याटिङले गर्दा पराजित हुन पुगेको थियो । पराजित भएका यी खेलमा नेपाल जित्न सकेकाे भए चाैथाे स्थानमा हुने थियाे । तर पराजयले छैटाैंतिर धकेलिएकाे छ ।

विश्व लिग २ का पछिल्ला पाँच खेलमा नेपालले तीनवटामा पराजय, एकमा जित र एकमा बराबरी नतिजा निकालेको छ । पाँच खेलका १० अंकमा नेपालले जम्मा ३ अंक मात्रै जोडेको छ ।

यसै क्रममा स्कटल्याण्डमा भइरहेको सिरिजमा नेपाल नामिबियासँग २१ वर्षपछि पराजित हुन पुगेको हो ।

नामिबियाविरुद्ध कतिपय ब्याटर खराब सट खेलेर आउट हुन पुगेका थिए । ओभरमा ५/६ रन आइरहेको स्थितिमा पनि खराब सट खेल्ने, अनावश्यक रन आउट हुने जस्ता कमजोरीले नेपालले ४६.६ ओभरमा नामिबियाविरुद्ध ४० रनको हार बेहोरेको हो ।

युएई २२ खेलबाट २६ अंकसहित तेस्रो स्थानमा छ । अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।

नेपाली समय अनुसार याे खेल सवा तीन बजे सुरू हुनेछ ।