NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

आहारारा गोल्डकप : मनाङ-मर्स्याङ्दी र जावलाखेल भिड्दै

गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन् ।

पोखरा रङ्गशालामा आज दिउँसो २:३० बजे सुरु हुने उक्त खेलको विजेता समूहले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भूटानको पारो फुटबल क्लबलाई २–० गोलले हराउँदै थ्रिस्टार क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मी क्लब, मङ्गलबार हुने चर्च ब्वाइज र एपिएफ क्लबबीचको खेलको विजेतासँग सेमिफाइनलका लागि खेल्नेछ ।

प्रतियोगिताका विजेताले रू १२ लाख एक हजार र उपविजेताले रू छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।