NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा

कास्की । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।  निर्धारित समयमा दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका थिए । थप गरिएको ३० मिनेटमा आर्मीले निर्णायक गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ६१औँ मिनेटमा आर्मीका लागि दिनेश हेमजनले फ्रिकिकमा उत्कृष्ट गोल गरे । पेनाल्टीबक्स बाहिरबाट दिनेशको प्रहारले सिधै जाली चुमेको थियो । चर्च ब्वाइजका सन्तोष खत्रीले दिनेशलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको हो । यस्तै चर्च ब्वाइजका लागि खेलको ८३औँ मिनेटमा समिर तामाङले गोल गरेका थिए । यसैगरी खेलको ९९औँ मिनेटमा आर्मीका रशबहादुर मगरले निर्णायक गोल गरेका थिए ।

आर्मीले अब यही माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार तथा उपविजेताले रु ६ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।