NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ब्रुनो चम्किँदा युनाइटेडको जित

शोफिल्डको रेलिगेसनबाट बच्ने सम्भावना समाप्त

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा ब्रुनो फर्नान्डिसको दुई गोलको मद्दतमा म्यानचेस्टर युनाइटेड ४–२ को गोलान्तरमा विजयी बनेको हो ।

युनाइटेडको यो जितमा ब्रुनोले निर्णायक योगदान गरे । उनले दुई गोल गर्नुका साथै थप एक गोलमा असिस्टसमेत गरे ।

शोफिल्डका जयडेन बोगलले ३५औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । तर, ४२औं मिनेटमा युनाइटेडका ह्यारी मग्वायरले गोल गर्दै खेल बराबरीमा फर्काए ।

शोफिल्डका बेन ओसबोर्नको पासमा ब्रेरेटन डियाजले ५०औं मिनेटमा थप गोल गर्दै युनाइटेडलाई पछि पारे पनि ६१औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । ८१औं मिनेटमा ब्रुनोले पुनः गोल गरेपछि युनाइटेड ३–२ ले अगाडि रह्यो । ८५औं मिनेटमा रासमस होजलुन्डले युनाइटेडका लागि अर्को गोल थपेपछि खेल ४–२ को हारजितमा टुंगियो ।

योसँगै युनाइटेड ३३ खेलबाट ५३ अंक बटुलेर छैटौं स्थानमा छ भने शेफिल्डले ३४ खेलबाट १६ अंक बनाएको छ । पुछारमा रहेको शोफिल्डको रेलिगेसनबाट बच्ने सम्भावना पनि बुधबार रातिको खेलसँगै समाप्त भएको छ ।