टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो । जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपालको पारी १९ दशमलव तीन ओभरमा एक सय २० रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का हाने । यस्तै अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए ।
बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले दुई दुई तथा कलिम साना र परगत सिंहले एक एक विकेट लिए ।
यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय पारी खेले । उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए । उनले एक चौका र चार छक्का प्रहार गरे । नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करन केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले एक एक विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्ने छ । जेठ १९ गतेदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपका नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डस्सँग खेल्ने छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया