NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

नेपालसहित ४० देशका नागरिकलाई श्रीलंकामा ३० दिने नि:शुल्क पर्यटक भिसा सुविधा

काठमाडौँ । श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। श्रीलंकाको अध्यागमन निकायले जारी गरेको नयाँ व्यवस्थाअनुसार यो प्रावधान सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।

काठमाडौँस्थित श्रीलंकाली दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार नयाँ नियम लागू भएसँगै नेपाली नागरिकले श्रीलंका भ्रमणका लागि अब भिसा शुल्क तिर्नु नपर्ने भएको छ। यद्यपि यात्रा अघि अनिवार्य रूपमा अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) स्वीकृति लिनुपर्ने व्यवस्था कायम रहनेछ।

दूतावासका अनुसार भिसा नि:शुल्क भए पनि श्रीलंका प्रवेश गर्नुअघि ईटीए प्रणालीबाट आवेदन दिएर स्वीकृति प्राप्त गर्नु अनिवार्य हुनेछ। यो सुविधा अन्तर्गत पर्यटकले पहिलो प्रवेश मितिबाट ३० दिनभित्र दुई पटकसम्म आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

साधारण, कूटनीतिक तथा सरकारी सबै प्रकारका राहदानी धारकहरू यो नि:शुल्क ईटीए सुविधाका लागि योग्य हुनेछन्। ३० दिनभन्दा बढी बस्न चाहने पर्यटकले भने प्रचलित नियमअनुसार भिसा शुल्क तिरेर अवधि विस्तार गर्न सक्ने व्यवस्था गरिएको छ।

नयाँ नियम लागू हुनु अघि अर्थात् २०२६ मे २५ भन्दा पहिले ईटीए शुल्क तिरेका आवेदकको रकम फिर्ता नहुने स्पष्ट गरिएको दूतावासले जनाएको छ।

यो सूचीमा नेपालसँगै भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, चीन, मलेसिया लगायत ४० देश समावेश छन्। साथै माल्दिभ्सका नागरिकले पारस्परिक सम्झौताअनुसार ९० दिनसम्म नि:शुल्क पर्यटक भिसा सुविधा पाउने व्यवस्था रहेको छ।

दूतावासका अनुसार इच्छुक यात्रुले अनलाइन प्रणालीका साथै प्रत्यक्ष रूपमा दूतावासमार्फत समेत ईटीए आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।

ताजा अपडेट

नेपालवाच विशेष