काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई सिधै समुदायसँग जोड्ने विश्वास व्यक्त गरिएको छ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्यांकन समितिका संयोजक आशामान संगतले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा मात्र सीमित राख्न नहुने बताएका छन्।
चलचित्र मनोरञ्जनको माध्यम हुनुका साथै शिक्षा, सूचना, सन्देश र जानकारीको सशक्त संवाहक भएको भन्दै यसलाई रचनात्मक उद्योगका रूपमा विकास गर्ने बेला आइसकेको संयोजक संगतको भनाइ छ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ को अपेक्षित नतिजाका बारेमा चर्चा गर्दै उनले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराई यसको चौतर्फी विकास र विस्तारमा योगदान दिने लक्ष्य राखिएको स्पष्ट पारे।
महानगरपालिकाले समुदाय स्तरमा यो अभूतपूर्व फिल्म महोत्सव सञ्चालन तथा व्यवस्थापन गर्नका लागि सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय रहेका गैरनाफामूलक संघसंस्थाहरू, युवा क्लव, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह तथा विभिन्न पुचःहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
यस कार्यक्रम अन्तर्गत छनोट हुने संस्थाहरूले महानगरपालिकाले तोकेका सर्त, सीमा, बन्देज, मिति र स्थानको परिधिभित्र रहेर महानगरले नै उपलब्ध गराएका फिल्महरू तथा प्राविधिक साधन एवं उपकरणहरूको प्रयोग गरी सर्वसाधारणका लागि निःशुल्क फिल्म प्रदर्शन गर्नुपर्नेछ। चलचित्र प्रदर्शन गरिने स्थानहरू परम्परागत ऐतिहासिक टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर र पार्क जस्ता खुला क्षेत्रहरू हुनेछन्।
यस सामूहिक प्रयोजनका लागि महानगरपालिकाले खुला प्रस्ताव आह्वान गरिसकेको छ, जसमा इच्छुक संघसंस्थाहरूले तोकिएको अन्तिम समयसीमा जेठ २७ गते राति १२ बजे अगावै महानगरपालिकाको वेबसाइटमा उपलब्ध ठेगाना मार्फत आफ्ना व्यावसायिक प्रस्तावहरू पेस गर्न सक्नेछन्।
यस प्रक्रियाबाट पारदर्शी रूपमा छनोट भएका संघसंस्थाहरूलाई सहभागितामूलक ढङ्गले महोत्सव आयोजना गर्नका लागि महानगरका तर्फबाट कार्यक्रम सञ्चालन सहयोग, क्युरेटेड फिल्महरू तथा फिल्म प्रदर्शनका लागि आवश्यक पर्ने एलइडी र साउन्ड सिस्टमसहितको सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
यो विशुद्ध समुदाय स्तरको सहकार्यमा आधारित कार्यक्रम भएकाले व्यवस्थापनमा हातेमालो गर्न इच्छुक र योग्य संघसंस्थाहरूलाई समयमै प्रस्ताव पेस गर्न विभागका प्रमुख कुमारी राईले विशेष आग्रह गरेकी छन्।
समुदाय स्तरमा देखाइने चलचित्रहरूको गुणस्तर, तिनको विषयवस्तु, प्रस्तुतीकरणको गाम्भीर्यता र सान्दर्भिकता जस्ता संवेदनशील विषयहरू सावधानीपूर्वक छनोट गर्न तथा समग्र कार्यक्रमलाई उद्देश्यमूलक बनाउनका लागि आवश्यक निगरानी, नियमन र नियन्त्रण गर्ने जिम्मेवारी सहित संयोजक संगतको नेतृत्वमा एक उच्चस्तरीय विशेष समितिसमेत गठन गरिएको छ।
ताजा अपडेट
-
मुलुकभर २५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा


प्रतिक्रिया