दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति १०ः४० बजे मगरलाई उनकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागुऔषध बरामद गरेको जनाएको छ । यसैक्रममा घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिवराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया