NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १० गते

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

कञ्चनपुर । नेपाल पन्छी संरक्षण संघले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मंगलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ ।

गणनाका क्रममा बासस्थान, आहारा, संख्या, आनीबानीका बारेमा अध्ययन गरिने संघका चराविज्ञ हिरुलाल डगौराले बताए । उनका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोपचराको गणना हुँदै आएको छ ।

“सुनौलो तोपचरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उनले भने, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) को रातो सूचीमा संकटापन्न अवस्थामा राखिएको छ, यसको प्रजनन अवधि मेदेखि सेप्टेम्बर महिनासम्म रहने गर्दछ ।”

नेपालमा तोपचराका नेपाल छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजाति पाइन्छन् । तीमध्ये सुनौलो तोपचरा संरक्षणका दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ । यस चराको मुख्य बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसेमैदान हो । तराईका प्राकृतिक घाँसेमैदानको विनाश, बासस्थानको सङ्कुचन तथा मानवीय गतिविधिका कारण यसको संख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौरा बताउछन् ।

निकुञ्जमा गणनाका क्रममा सन् २०२२ मा २४८, सन् २०२३ मा २११ र सन् २०२५ मा १८४ वटा सुनौलो तोपचरा फेला परेका थिए । यसले पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो क्रममा रहेको देखाउँछ ।

सुनौलो तोपचराको दीर्घकालीन संरक्षणका लागि प्राकृतिक घाँसेमैदानको संरक्षण, बासस्थानको उचित व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको निकुञ्जका सहायक मुख्य संरक्षण अधिकत विनयकुमार झाले बताए ।

उनका अनुसार हरेक वर्ष गरिने गणनाले यस दुर्लभ चराको अवस्था बुझ्न तथा प्रभावकारी संरक्षण योजना बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्छ ।

ताजा अपडेट

नेपालवाच विशेष