NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १४ गते

होर्मुज तनाव चुलियो, अमेरिकाले फेरि गर्‍यो इरानमाथि आक्रमण

काठमाडौँ – स्ट्रेट अफ होर्मुजको जलडमरूमा पानामाको झण्डा बोकेको एक जहाजमाथि शनिबार ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य कारबाही सुरु गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानभित्रका विभिन्न स्थानलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । सेन्टकमका अनुसार यो कारबाही व्यावसायिक जहाजहरूविरुद्ध भइरहेका निरन्तर आक्रामक गतिविधिको प्रत्यक्ष जवाफस्वरूप गरिएको हो ।

सेन्टकमले आक्रमण गरेको जनाएको स्थानहरूमा सैन्य सामग्री, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित संरचनाहरू रहेका थिए ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर उसले त्यसो गरेन । बरु, इरानी सेनाले एकतर्फी आक्रमणकारी ड्रोन प्रयोग गरी एम/टी किकू ट्यांकरमाथि आक्रमण गर्‍यो ।’

एम/टी किकू पानामाको झण्डा बोकेको एक तेल ट्यांकर हो । सेन्टकमका अनुसार उक्त ट्यांकरले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेर होर्मुज जलडमरू हुँदै यात्रा गरिरहेको थियो ।

सेन्टकमले होर्मुज जलडमरू हुँदै व्यावसायिक जहाजहरूको आवतजावत भने यथावत् सञ्चालन भइरहेको पनि जनाएको छ । यता, इरानले यी पछिल्ला अमेरिकी आक्रमणबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष