क्याम्पियन काठमाडौँ स्कूलमा सप्ताहव्यापी ‘CKS–साहित्य उत्सव २०८३’ सुरु हुँदै
काठमाडौं, असार २२ — चौधरी समूहद्वारा सञ्चालित तथा CG Education को व्यवस्थापनमा रहेको क्याम्पियन काठमाडौँ स्कूल, गहना पोखरी–टंगालमा असार २३ गतेदेखि सप्ताहव्यापी ‘CKS–साहित्य उत्सव २०८३’ आयोजना हुने भएको छ।
‘उज्यालो भविष्य निर्माणमा मसी, कलम र कल्पनाको जादु’ भन्ने आदर्श वाक्यका साथ आयोजना हुन लागेको यो साहित्यिक महोत्सवको तेस्रो संस्करण हो। असार २९ गतेसम्म सञ्चालन हुने उत्सवमा साहित्य, शिक्षा र सिर्जनात्मक गतिविधिसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिने विद्यालयले जनाएको छ।
उत्सवका प्रमुख आकर्षणका रूपमा ‘साहित्य संवादः मानव निर्माणमा साहित्यको भूमिका’ तथा ‘शिक्षा संवादः कस्तो हुनुपर्छ अबको शिक्षा?’ विषयक अन्तरक्रिया कार्यक्रम रहनेछन्। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
विद्यालयका अनुसार साहित्य उत्सवको उद्देश्य विद्यार्थीहरूमा लेखन कला र सिर्जनात्मक सीपको विकास गर्नुका साथै कला र साहित्यप्रति व्यापक दृष्टिकोण विकास गराउनु हो। विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको यस कार्यक्रमले विद्यार्थीलाई आफ्ना विचार र सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ।
विद्यालयका प्राचार्य खेमराज देवानका अनुसार सप्ताहव्यापी साहित्य उत्सव असार २९ गते २१३औँ भानुजयन्ती समारोहका साथ समापन गरिनेछ।


प्रतिक्रिया