करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
बर्दिया । विश्वकै सबैभन्दा सानो जंगली बिरालो मानिने रस्टी–स्पटेड क्याट (खिया थोप्ले बिरालो) को संरक्षणलाई स्थानीयको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दियामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजित कार्यक्रममा १४ जना स्थानीय सहभागी भएका थिए । उनीहरूलाई प्राङ्गारिक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन तथा दिगो कृषि अभ्याससम्बन्धी एकदिने तालिम दिइएको थियो । तालिमपछि प्रत्येक सहभागीलाई कृषि औजार र मौसमी तरकारीका बीउबिजन पनि वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम स्मल वाइल्ड क्याट कन्जर्भेसन फाउन्डेसन (एसडब्लुसिसिएफ), मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड (एमबिजेडएससिएफ) तथा रस्टी–स्पटेड क्याट वर्किङ ग्रुप–बर्दिया को सहयोगमा सञ्चालन भएको हो । कार्यक्रमको संयोजन रामजन चौधरीले गर्नुभएको थियो भने पशु चिकित्सक अशिष चौधरीले प्रशिक्षण दिनुभएको थियो ।
आयोजकका अनुसार घरघरमा करेसाबारीको विकास भए वनजन्य स्रोतमा निर्भरता घट्ने, वन क्षेत्रमा हुने मानव चाप कम हुने र त्यसबाट वन्यजन्तुको बासस्थान संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले वन डढेलोको जोखिम घटाउने, अवैध सिकार न्यूनीकरण गर्ने तथा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
रस्टी–स्पटेड क्याट नेपाल, भारत र श्रीलंकामा मात्र पाइने दुर्लभ जंगली बिरालो हो । यसको शरीरको लम्बाइ ३५ देखि ४८ सेन्टिमिटर र तौल ०.९ देखि १.६ किलोग्रामसम्म हुन्छ । शरीरमा देखिने खिया रङका साना थोप्लाका कारण यसलाई खिया थोप्ले बिरालो पनि भनिन्छ ।
यो बिरालो मुख्यतः राति सक्रिय हुने, एक्लै बस्ने र अत्यन्त लजालु स्वभावको हुन्छ । मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता तथा कीराफट्याङ्ग्राहरू यसको मुख्य आहारा हुन् । मुसाको सङ्ख्या नियन्त्रणमार्फत पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने संरक्षणकर्मीहरूको भनाइ छ ।
कार्यक्रम संयोजक रामजन चौधरीका अनुसार वि.सं. २०६९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको पहिलो पटक तस्बिरसहित अभिलेखीकरण गरिएको थियो । तालिम सञ्चालन भएको खुशालपुर क्षेत्र सोही आसपास पर्ने भएकाले स्थानीय समुदाय यसको संरक्षणका लागि महत्वपूर्ण साझेदार रहेको उहाँले बताउनुभयो ।
तालिमका क्रममा सहभागीलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तुको सडक दुर्घटना न्यूनीकरण तथा प्राकृतिक बासस्थान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको थियो ।
एसडब्लुसिसिएफ, एमबिजेडएससिएफ तथा रस्टी–स्पटेड क्याट वर्किङ ग्रुपले बर्दियामा विद्यालयस्तरीय संरक्षण सचेतना, वृक्षारोपण, बासस्थान पुनःस्थापना, होमस्टे प्रवर्द्धन, दिगो कृषि तथा आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
संस्थाहरूका अनुसार मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड ले विश्वका १७४ देशमा संकटापन्न तथा कम चर्चामा रहेका वन्यजन्तुको संरक्षणका कार्यक्रमलाई सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
डा. गोविन्द केसीले तोडे अनशन
-
नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन


प्रतिक्रिया