नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
काठमाडौं । नेपालमा मुटु तथा छाती शल्यचिकित्सा सेवाको गुणस्तर अभिवृद्धि तथा नवीनतम चिकित्सा प्रविधिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले म्याक्स पेसेन्ट असिस्टेन्स सेन्टर, काठमाडौं र ह्याम्स अस्पतालको संयुक्त आयोजनामा ‘रिसेन्ट एडभान्सेस इन कार्डियाक एन्ड थोरेसिक सर्जरी’ विषयक कन्टिन्युइङ मेडिकल एजुकेसन (सिएमई) कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा नेपाल तथा भारतका वरिष्ठ कार्डियाक तथा थोरेसिक सर्जनहरूले पछिल्ला वैज्ञानिक उपलब्धि, जटिल शल्यचिकित्साको व्यवस्थापन तथा आधुनिक उपचार प्रविधिबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ह्याम्स अस्पतालका चिफ कन्सल्टेन्ट तथा डिपार्टमेन्ट अफ सिटिभिएसका डा. भगवान कोइरालाले ‘सर्जिकल म्यानेजमेन्ट अफ कोरोनरी एनोमालिज’ विषयमा प्रस्तुति दिएका थिए । उनले जटिल कोरोनरी असामान्यताको शल्यचिकित्सामा समयमै पहिचान, सही उपचार योजना तथा बहुविषयगत समन्वयको महत्वबारे प्रकाश पारे ।
त्यसैगरी, भारतस्थित म्याक्स सुपर स्पेसियालिटी अस्पताल, साकेतका चेयरम्यान एन्ड हेड, सिटिभिएस डा. रजनीश मल्होत्राले ‘चेन्जिङ प्याराडाइम इन कार्डियाक साइन्सेस’ विषयमा प्रस्तुति दिएका थिए । उनले मुटुरोगको उपचारमा विकसित हुँदै गएका प्रविधि, मिनिमली इनभेसिभ शल्यचिकित्सा, आर्टिफिसियल इन्टेलिजेन्स तथा भविष्यमा प्रयोगमा आउन सक्ने उपचार पद्धतिबारे आफ्नो अनुभव साझा गरे ।
ह्याम्स अस्पतालका सिनियर कन्सल्टेन्ट, थोरेसिक सर्जरी डा. रञ्जन सापकोटाले ‘एडभान्सेस इन एयरवे सर्जरी’ विषयमा प्रस्तुति दिँदै श्वासनलीसम्बन्धी जटिल शल्यचिकित्सामा भएका पछिल्ला प्रगति तथा नेपालमा यसको सम्भावनाबारे जानकारी गराए ।
त्यस्तै, म्याक्स सुपर स्पेसियालिटी अस्पताल, साकेतका डाइरेक्टर, थोरेसिक सर्जरी डा. शैवाल खण्डेलवालले ‘सिम्पेथेटिक नर्भ रिकन्स्ट्रक्सन अफ्टर सिम्पेथेक्टोमी फर हाइपरहाइड्रोसिस’ विषयमा प्रस्तुति दिए । उनले अत्यधिक पसिना आउने समस्या हाइपरहाइड्रोसिसको उपचारमा विकसित नवीन शल्यचिकित्सात्मक प्रविधिबारे चर्चा गरे ।
कार्यक्रममा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले ह्याम्स र म्याक्स हेल्थकेयरबीचको सहकार्यले जटिल प्रकृतिका मुटु तथा अन्य गम्भीर रोगका बिरामीलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले ह्याम्स अस्पतालमा उपलब्ध स्रोतसाधन र विशेषज्ञ जनशक्तिले भ्याएसम्म बिरामीको उपचार नेपालमै गरिने बताए । आवश्यक परेको अवस्थामा भारतको म्याक्स हस्पिटलका विशेषज्ञ चिकित्सकलाई नेपालमै ल्याएर उपचारको व्यवस्था मिलाइने उनको भनाइ थियो ।
नेपालमा उपचार सम्भव नभई बिरामीलाई ह्याम्स अस्पतालबाट भारतस्थित म्याक्स हस्पिटलमा रेफर गर्नुपर्ने अवस्था आएमा उपचार खर्चमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिने पनि भण्डारीले जानकारी दिए ।
उनका अनुसार यस सहकार्यको अर्को महत्वपूर्ण पक्ष भारतमा उपचारपछि बिरामीको फलोअप सेवा नेपालमै उपलब्ध गराउनु हो । भारतमा उपचार गराएर फर्किएका बिरामीले फलोअपका लागि पुनः भारत जानुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले म्याक्स हस्पिटलमा उपचारपछि आवश्यक पर्ने फलोअप तथा निरन्तर उपचारको समन्वय र व्यवस्थापन ह्याम्स अस्पतालबाटै गरिने उनले बताए ।
“बिरामी भारतमा उपचार गराएर फर्किएपछि पनि फलोअपका लागि पुनः भारत जानुपर्ने अवस्था नहोस् भन्ने हाम्रो उद्देश्य हो । म्याक्स हस्पिटल, भारतमा उपचारपछि आवश्यक पर्ने सम्पूर्ण फलोअप र निरन्तर उपचारको समन्वय तथा व्यवस्थापन ह्याम्स अस्पतालबाटै गरिनेछ,” उनले भने ।
कार्यक्रममा चिकित्सक, कार्डियाक तथा थोरेसिक सर्जन, स्वास्थ्यकर्मी तथा चिकित्सा क्षेत्रका विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदान कार्यक्रमले नेपाली स्वास्थ्य सेवामा अत्याधुनिक उपचार पद्धति भित्र्याउन, चिकित्सकको क्षमता अभिवृद्धि गर्न तथा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको संयोजन ह्याम्स अस्पतालका सिनियर कन्सल्टेन्ट, डिपार्टमेन्ट अफ सिटिभिएस तथा एक्जिक्युटिभ डाइरेक्टर डा. ज्योतिन्द्र शर्माले गरेका थिए । उनले ह्याम्स अस्पताल बिरामीको सेवामा सधैँ तत्पर रहेको र उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रतिबद्ध रहेको बताए ।
ताजा अपडेट
-
डा. गोविन्द केसीले तोडे अनशन
-
नेपालमा मुटु तथा छाती शल्यचिकित्साका नवीनतम प्रविधिबारे अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
करेसाबारीबाट रस्टी–स्पटेड क्याट जोगाउने प्रयास, बर्दियामा स्थानीयलाई तालिम
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन


प्रतिक्रिया