ग्यास आपूर्ति पर्याप्त छ, अतिरिक्त सिलिण्डर नथुपार्न उद्योग संघको आग्रह
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नहुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।
संघले पछिल्लो समय भारतबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र उद्योगहरूले नियमित रूपमा सिलिण्डर रिफिल गरी बजारमा पठाइरहेकाले कृत्रिम अभाव सिर्जना हुन नदिन उपभोक्तालाई संयम अपनाउन आग्रह गरेको हो।
संघका अध्यक्ष दिवानबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको अभावको अवस्था तत्काल समाधान हुने उल्लेख छ। उनले आगामी दिनमा समेत ग्यास आपूर्तिमा समस्या नआउने बताएका छन्।
नेपाल आयल निगमका अनुसार पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यास आयात करिब १५ प्रतिशतले बढेको छ। पछिल्ला २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ।
चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो।
ग्यास उद्योग संघले बजारको मागअनुसार आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको जनाएको छ। संघले बिक्रेताहरूलाई पनि घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्रीवितरण गर्न आग्रह गरेको छ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच ४५ मिनेट कुराकानी
-
ग्यास आपूर्ति पर्याप्त छ, अतिरिक्त सिलिण्डर नथुपार्न उद्योग संघको आग्रह
-
नेतन्याहूले ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार गरेको घोषणा
-
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
-
क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिनुहाेस् आवेदन


प्रतिक्रिया