पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं। अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार साँझदेखि परेको लगातार वर्षाका कारण सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र नार्के क्षेत्रमा लेदोसहितको पहिरो खसेको हो।
पहिरोका कारण राजमार्गमा यातायात पूर्ण रूपमा रोकिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। वर्षा जारी रहेकाले थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको छ।
सडक डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने तयारी भइरहेको छ। सडकमा खसेको लेदो र पहिरो हटाएर राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बीपी राजमार्ग काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक मार्ग भएकाले पहिरोका कारण भएको अवरोधले यस क्षेत्रमा चल्ने लामो दूरीका सवारीसाधन प्रभावित भएका छन्।


प्रतिक्रिया