NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

काठमाडौं जिल्लाव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’ आइतबारदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो’, उनले भने । वडाले खेल क्षेत्रको विकासका लागि चालु आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताए ।

प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौंभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई एक लाख ५० हजार रुपैयाँ, उपविजेतालाई ७५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँका दरले प्रदान गरिनेछ ।

यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः२० हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

यस्तै, डब्लुकेएफ कराते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः५० हजार रुपैयाँ, २५ हजार र २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष