NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

काठमाडौं जिल्लाव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’ आइतबारदेखि हुने भएको छ ।

काठमाडौं महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

‘वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो’, उनले भने । वडाले खेल क्षेत्रको विकासका लागि चालु आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताए ।

प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौंभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई एक लाख ५० हजार रुपैयाँ, उपविजेतालाई ७५ हजार रुपैयाँ र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँका दरले प्रदान गरिनेछ ।

यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः२० हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

यस्तै, डब्लुकेएफ कराते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः५० हजार रुपैयाँ, २५ हजार र २० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष